सिक्किमलाई ‘होलिस्टिक हेल्थकेयर’ हब बनाइने
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले पाक्यङ जिल्लाको लुङचोकमा ‘होलिस्टिक इन्स्टिच्युट अफ आयुर्वेद एन्ड वेलनेस सेन्टर’ को शिलान्यास गरेका छन्। सिक्किमलाई समग्र स्वास्थ्य (होलिस्टिक हेल्थकेयर), योग, आयुर्वेद र वेलनेस पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ उक्त केन्द्रको निर्माण सुरु गरिएको मुख्यमन्त्री तामाङले बताएका छन्।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेका अनुसार प्रस्तावित संस्थानमा आयुर्वेद, पञ्चकर्म, योग, ध्यान र परम्परागत उपचार पद्धतिको एकीकृत सेवा उपलब्ध गराइनेछ। यस परियोजनाले परम्परागत स्वास्थ्य सेवालाई सुदृढ बनाउनुका साथै वेलनेस पर्यटनको प्रवर्द्धन र स्थानीय नागरिकका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे।
समारोहमा मुख्यमन्त्री तामाङले अन्तर्राष्ट्रिय योग दिवसमार्फत भारतको समृद्ध योग परम्परालाई विश्वमञ्चमा पुऱ्याउन नेतृत्वदायी भूमिका खेलेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरे।
यस्तै, १३ जुन २०२५ मा आयुष विभागलाई स्वतन्त्र विभागका रूपमा स्थापना गरिएयता भएका प्रगतिहरूबारे चर्चा गर्दै उनले सोचकगाङ र गेजिङका अस्पतालहरू तथा देओरालीस्थित सोवा-रिग्पा (Sowa-Rigpa) अस्पताल र शिक्षण संस्थाको सञ्चालनले आयुष सेवालाई थप सुदृढ बनाएको बताए।

निरोधात्मक स्वास्थ्य सेवा (प्रिवेन्टिभ हेल्थकेयर) मा राज्य सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै मुख्यमन्त्रीले ‘हर घर योग’ अभियानमा १ लाख ५० हजारभन्दा बढीको दर्ता भइसकेको र ‘मानसिक स्वास्थ्यका लागि योग’ पहलअन्तर्गत हालसम्म ८२५ जना योग शिक्षकहरूलाई तालिम दिइसकिएको जानकारी दिए।
यसका साथै, सडक सञ्जालको सुदृढीकरण र ‘आमा योजना’ लगायत राज्य सरकारले सञ्चालन गरेका जनकल्याणकारी तथा समावेशी विकासका कार्यक्रमहरूबारे पनि उनले प्रकाश पारे। “हाम्रो सोच केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित छैन; बहुमूल्य परम्परागत सम्पदाको संरक्षण, दिगो जीविकोपार्जनका अवसरहरूको सिर्जना र समृद्ध सिक्किमको निर्माण नै हाम्रो मुख्य ध्येय हो,” उनले भने।





