गान्ताेकमा आयुर्वेदिक र वेलनेस सेन्टरको शिलान्यास

FB_IMG_1792068048634

सिक्किमलाई ‘होलिस्टिक हेल्थकेयर’ हब बनाइने

​गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले पाक्यङ जिल्लाको लुङचोकमा ‘होलिस्टिक इन्स्टिच्युट अफ आयुर्वेद एन्ड वेलनेस सेन्टर’ को शिलान्यास गरेका छन्। सिक्किमलाई समग्र स्वास्थ्य (होलिस्टिक हेल्थकेयर), योग, आयुर्वेद र वेलनेस पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ उक्त केन्द्रको निर्माण सुरु गरिएको मुख्यमन्त्री तामाङले बताएका छन्।
​शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेका अनुसार प्रस्तावित संस्थानमा आयुर्वेद, पञ्चकर्म, योग, ध्यान र परम्परागत उपचार पद्धतिको एकीकृत सेवा उपलब्ध गराइनेछ। यस परियोजनाले परम्परागत स्वास्थ्य सेवालाई सुदृढ बनाउनुका साथै वेलनेस पर्यटनको प्रवर्द्धन र स्थानीय नागरिकका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे।
​समारोहमा मुख्यमन्त्री तामाङले अन्तर्राष्ट्रिय योग दिवसमार्फत भारतको समृद्ध योग परम्परालाई विश्वमञ्चमा पुऱ्याउन नेतृत्वदायी भूमिका खेलेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरे।
​यस्तै, १३ जुन २०२५ मा आयुष विभागलाई स्वतन्त्र विभागका रूपमा स्थापना गरिएयता भएका प्रगतिहरूबारे चर्चा गर्दै उनले सोचकगाङ र गेजिङका अस्पतालहरू तथा देओरालीस्थित सोवा-रिग्पा (Sowa-Rigpa) अस्पताल र शिक्षण संस्थाको सञ्चालनले आयुष सेवालाई थप सुदृढ बनाएको बताए।

निरोधात्मक स्वास्थ्य सेवा (प्रिवेन्टिभ हेल्थकेयर) मा राज्य सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै मुख्यमन्त्रीले ‘हर घर योग’ अभियानमा १ लाख ५० हजारभन्दा बढीको दर्ता भइसकेको र ‘मानसिक स्वास्थ्यका लागि योग’ पहलअन्तर्गत हालसम्म ८२५ जना योग शिक्षकहरूलाई तालिम दिइसकिएको जानकारी दिए।
​यसका साथै, सडक सञ्जालको सुदृढीकरण र ‘आमा योजना’ लगायत राज्य सरकारले सञ्चालन गरेका जनकल्याणकारी तथा समावेशी विकासका कार्यक्रमहरूबारे पनि उनले प्रकाश पारे। “हाम्रो सोच केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित छैन; बहुमूल्य परम्परागत सम्पदाको संरक्षण, दिगो जीविकोपार्जनका अवसरहरूको सिर्जना र समृद्ध सिक्किमको निर्माण नै हाम्रो मुख्य ध्येय हो,” उनले भने।

About Author

Advertisement