सिलगढ़ी: प्रसिद्ध गायिका-सङ्गीतकार शान्ति ठटाल भातृशोकमा परेकी छन्। उनका कान्छा भाइ दिलीप सिंह ठटाल जो सिलगढ़ीमा धेरै समय बसेका थिए उनको हिजो शुक्रबार कलकत्तामा निधन भएको छ। दिलीप सिंह ठटाल केही समयदेखि रोगले अक्रान्त बनेका थिए अनि हाल कलकत्तामा छोरी तृष्णा ठटाल-दाससित बसेर उपाचार गरिरहेका थिए जहाँ हिजो शुक्रबार बिहान दुई बजे उनले अन्तिम श्वास लिए। उनको दाह संस्कार शुक्रबार अपराह्न नै कलकत्ता कालीधाटमा गरिएको जानकारी परिवारसूत्रले दिएका छन्। उनको दाह संस्कारमा कलकत्ताको गोर्खा समाजका धेरै सदस्यहरूको पनि उपस्थिति रहेको थियो। दार्जीलिङ चोक बजारको म्युनिसिपल ई बिल्डिङमा जन्मग्रहण गरेका दिलीपसिंह ठटाल प्रसिद्ध आर्य सामाजिक व्यक्तित्व मनुसिंह ठटालका कान्छा छोरा थिए भने प्रसिद्ध गायिका-सङ्गीतकार शान्ति ठटाल, लेखिका-सम्पादक माया ठटाल, अ. प्रा. शिक्षक छत्रपति ठटाल, अ. प्रा. मेजिस्ट्रेट रामानुज ठटाल तथा अ. प्रा. शिक्षिका लता ठटालका कान्छा भाइ थिए। दिलीपसिंह ठटाल समाजसेवी व्यक्ति थिए। उनी साहित्य-सङ्गीतमा रुचि राख्थे अनि विविध समाजिक, साहित्यिक, साङ्गीतिक, सांस्कृतिक कार्यक्रमहरूमा सक्रीय सहभागिता जनाउने गर्दथे। आफ्नी दिदी शान्ति ठटालले घरैमा र कतिचोटि मञ्चहरूमा गीत प्रस्तुत गर्दा दिलीप सिंहले तबला बजाएर उनलाई साथ दिने गरेका कुरा सुश्री ठटाल जनाउँछिन्। सिलगढ़ीमा आयोजित विविध यस्ता कार्यक्रमहरूमा उनको सक्रीय सहभागिता रहेको हुने गर्थ्यो। उनको समाज सेवालाई कदर गर्दै दुर्गागढ़ी दुर्गा जन-कल्याण सङ्गठन सिलगढ़ीद्वारा २७ मई २००७ को दिन उनलाई सम्मान गर्दै अभिनन्दन पत्रले सुशोभित गरेको थियो। उसै गरी उनको साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदानको निम्ति लैनसिंह बाङ्गदेल साहित्य-कला प्रतिष्ठान कलकत्ताले उनलाई १६ दिसम्बर २०१८ को दिन सम्मान गर्दै स्मृति चिह्नद्वारा अलङ्कृत गरेको थियो। अनुसूचित जातिको उत्थान र विकाशका कार्यक्रमहरूमा पनि उनको सहभागिता र योगदान रहेको हुँदथ्यो। अनुसूचित जातिको उत्थान र विकाशको निम्ति महत्त्वपूर्ण कार्यहरू गर्नुहुने महान विभूति कमानसिंह रामूदामूका उनी प्रिय पात्र रहेका थिए। होटल व्यवसायमा उनको कुशलता र सामर्थ्यको सबैले सराहना गर्दछन्। उनको निधनले परिवारजन, ईष्टमित्र अनि बन्धु बान्धवहरू मर्माहत बनेका छन्। उनको अन्त्येष्टि कार्य आगामी ९ नवम्बर २०२२ को दिन कलकत्तामा नै गरिने जानकारी परिवार सूत्रले दिएका छऩ्। सम्पर्क न.: ९८३०४७७९३६









