खरसाङ: खरसाङका रामकृष्ण शर्मालाई भारतीय जनता पार्टीले दार्जिलिङ जिल्ला सचिव एवं प्रवक्ता पद दिएर पार्टीमा जिम्मेवारी दिएको छ। भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव एवं प्रवक्ता बनाइएको विषयमा सोधिएको एक प्रश्नको उत्तरमा रामकृष्ण शर्माले भारतीय जनता पार्टीले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारीलाई पूर्ण रुपमा निष्ठापूर्वक पालन गर्ने बताएका छन्। यो ठूलो र जिम्मेवारीपूर्ण पदको लागि उनले भारतीय जनता पार्टी र दार्जिलिङ जिल्ला कमिटीको पदाधिकारीहरु र कार्यकारी सदस्यहरुलाई विशेष धन्यवाद दिएका छन्। शर्माले एक प्रश्नको उत्तरमा भने, जुन हिसाबले भारतीय जनता पार्टीले जनताको लागि काम गर्दै आएको छ, त्यसलाई थप म मेरो तर्फबाट पनि कुन हिसाबले हुन्छ काम गर्नेछु। भारतीय जनता पार्टी जनताको लागि काम गर्ने पार्टी हो अनि हामी सबै भाजपाका प्रतिनिधिहरु पनि जनताको लागि काम गर्नेछौँ।’
उल्लेखनीय छ, खरसाङका रामकृष्ण शर्मा शुरुमा एकजना कलाकार र सामाजिक कार्यकर्ता थिए।पछिबाट उनी जनताको विभिन्न समस्याहरुलाई उजागार गर्दै अघि बढे अनि जनताको आवाज बनेर कार्य गर्दै गए। उनलाई जनताले सामाजिक कार्यहरुका लागि मन पराए पनि। 2026 को बंगाल विधानसभा चुनाव अघिसम्म उनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको पदाधिकारी भएर कार्य गरेका थिए। यसावधि उनले खरसाङ नगरपालिका क्षेत्रमा भईरहेको प्रधानमन्त्री आवास योजना हाउस फर अल योजनाका लाभार्थीहरुलाई लिएर कार्य गरिरहे भने नगरपालिका त सरकारको नीतिहरुमाथि आलोचना गर्न थाले। तर उनी बंगाल विधानसभा चुनावमा केही समय चुपचाप रहे। बंगाल विधानसभा चुनावमा भारतीय जनता पार्टीको विजयपछि उनी भारतीय जनता पार्टीमा सामेल भएका थिए। हालमा उनलाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव एवं प्रवक्ताको रूपमा नियुक्त गरिएको छ।





