गान्ताेक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले राज्यका पूर्व राज्यपाल ओमप्रकाश माथुरको कार्यकालको प्रशंसा गर्दै नयाँ राज्यपालमा नियुक्त हुनुभएका दुष्यन्त गौतमलाई स्वागत एवं बधाई ज्ञापन गर्नुभएको छ।
सांसद सुब्बाले सामाजिक सञ्जालमार्फत आफ्नो मन्तव्य व्यक्त गर्दै २०२४ देखि सिक्किमका राज्यपालको रूपमा अमूल्य सेवा पुऱ्याउनु भएकोमा ओमप्रकाश माथुरप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले माथुरको सक्रिय नेतृत्व, विचारपूर्ण मार्गदर्शन र सिक्किमका जनताको कल्याणप्रतिको प्रतिबद्धताले राज्यलाई विकासको बाटोमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ। साथै, राज्यमा उहाँले पुऱ्याउनु भएको योगदानलाई सधैँ आदरपूर्वक स्मरण गरिने बताउनुभएको छ।
यसैगरी, सांसद सुब्बाले सिक्किमको नयाँ राज्यपालमा नियुक्त हुनुभएकोमा दुष्यन्त गौतमलाई न्यानो स्वागत तथा हार्दिक बधाईसमेत दिनुभएको छ। उहाँले राज्यको विकास यात्रालाई थप बलियो बनाउन तथा सिक्किमका जनताका आकाङ्क्षापूर्तिको दिशामा नयाँ राज्यपालको नेतृत्व र मार्गदर्शनको अपेक्षा राखेको बताएका छन्।
सांसद सुब्बाले राष्ट्र र जनताको सेवाको आआफ्नो आगामी यात्रामा दुवै सम्मानित नेताहरूलाई शुभकामनासमेत व्यक्त गर्नुभएको छ।





