सोनादा: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार बसन्तकुमार राईको ८९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ। उनले आफ्नो निजी वासस्थान पचेङ बजार, सोनादामा अन्तिम श्वास लिएका छन्। लामो समयसम्म शिक्षा क्षेत्र र नेपाली साहित्य क्षेत्रमा योगदान दिने वरिष्ठ साहित्यकार बसन्तकुमार राईको अन्तिम संस्कार आईतबार ३० अक्टोबरको दिन गरिने भएको जानकारी प्राप्त भएको छ। उनले आफुपछि एक छोरा, पाँच छोरी, नाता नातिनीहरु छोडी गएका छन्। १३ जून सन् १९३५ मा जन्मेका बसन्तकुमार राईले इतिहास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए। उनले जम्मा ४१ वर्ष ३ महिना शिक्षा क्षेत्रमा कार्य गर्दै महत्वपूर्ण योगदान दिएका थिए। उनले १९५४ देखि शान्तिरानी जुनियर हाई स्कूल र पछिबाट शान्तीरानी सेकेण्डेरी स्कूलमा सहायक शिक्षक र उप प्रधान अध्यापक र पछिबाट प्रधान अध्यापकको रूपमा पनि कार्य गरेका थिए। डा पारसमणि प्रधानद्वारा सम्पादित भारती पत्रिकामा ‘बिगो’ कथा प्रकाशित गरेर साहित्यमा प्रवेश गरेका वरिष्ठ कथाकार वसन्तकुमार राईले १९५७ मा ‘नव कुसुम’ कथाकृति नेपाली साहित्यलाई अर्पण गरी साहित्याकाशमा आफ्नो नाम दर्ता गराउने कथाकार वसन्तकुमार राई अग्रज कथा शिल्पी हुन्। उनको प्रकाशित कथा संग्रहमा नव कुसुम (१९५७), शान्ति टोल (१९६०), मुटुको बह (१९७०), बसन्तका कथाहरू (२००३), केही कथाहरू (२०१४) प्रकाशित छन्। त्यसरी नै अवकाशप्राप्त जीवन नामक संस्मरण पनि प्रकाशित छन्। उनले गुराँस, शान्तिरानी हाई स्कूलको वार्षिक मुखपत्र पनि सम्पादन गरेका थिए। वरिष्ठ साहित्यकार एंव कथाकार बसन्तकुमार राईको निधनले भारतीय नेपाली साहित्य अनि विशेष गरी कथा विधामा ठूलो क्षति भएको साहित्यकारहरूले बताएका छन्। कथामा आफ्ना समय,परिवेश अनि स्थितिहरूलाई निक्कै यत्नसँग समेट्दै सहज पात्रहरूको सहयोग अनि सरल भाषा शैलीको प्रयोगमा कथालाई जीवन्त दिनुमा अब्बल उनका कथाहरू सदैव अमर रहने छन्।









