चरित्र निर्माण र बुद्धिको विकास नै शिक्षाको मुख्य उद्देश्य: राज्यपाल माथुर
गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले शिक्षाको मुख्य उद्देश्य केवल डिग्री हासिल गर्नु मात्र नभई चरित्र निर्माण र बुद्धिको विकास गर्नु रहेको बताएका छन्। चिन्तन भवनमा शनिबार आयोजित आईसीएफएआई विश्वविद्यालयको १९औँ दीक्षान्त समारोहलाई कुलाध्यक्ष (भिजिटर) का रूपमा सम्बोधित गर्दै राज्यपाल माथुरले उक्त विचार व्यक्त गरेका हुन्।
समारोहमा विशिष्ट अतिथिका रूपमा पद्मविभूषण डा. दुव्वुर नागेश्वर रेड्डी (एआईजी हस्पिटल्सका संस्थापक), विश्वविद्यालयका कुलाधिपति डा. ओआरएस राव र उपकुलपति डा. जगन्नाथ पटनायकको उपस्थिति रहेको थियो। समारोहमा मेधावी विद्यार्थीहरूलाई राज्यपालद्वारा स्वर्ण पदक तथा डिग्री प्रदान गरिनुका साथै विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरूलाई मानद उपाधिबाट सम्मानित गरिएको थियो।

युवाहरूलाई प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विवेकपूर्ण ढङ्गले गर्न आग्रह गर्दै राज्यपाल माथुरले स्वामी विवेकानन्द र डा. एपीजे अब्दुल कलामका विचारहरू उद्धृत गरे। उनले ‘विकसित भारत@२०४७’ को सङ्कल्प पूरा गर्ने जिम्मेवारी ऊर्जावान युवाहरूको काँधमा रहेको बताउँदै प्रविधिको उपयोग समाजको अन्तिम छेउमा रहेका नागरिकलाई सशक्त बनाउन प्रयोग गर्न आह्वान गरे।





