गान्तोक: सिक्किम विश्वविद्यालयका उपकुलपति प्रा. शान्तनुकुमार स्वाईंले लोकभवन पुगेर राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा राज्यपाल माथुरले सिक्किम विश्वविद्यालयको प्राज्ञिक (अकादमिक) तथा प्रशासनिक यात्रामा आधारित ‘भिजनरी लिडरसिप: द क्वेस्ट फर एक्सिलेन्स’ नामक पुस्तक विमोचन गरे।
उपकुलपति प्रा. स्वाईंका प्रशासनिक अनुभव, सोच र दृष्टिकोण समेटिएको उक्त पुस्तक विमोचन समारोहमा विश्वविद्यालयका याङ्गाङ क्याम्पस निर्देशक प्रा. दुर्गाप्रसाद छेत्री, पुस्तकालय प्रभारी प्रा. सत्यानन्द पाण्डा तथा हिन्दी विभागका सहायक प्राध्यापक डा. प्रदीप त्रिपाठीको उपस्थिति रहेको थियो।
सो अवसरमा राज्यपाल माथुरले उपकुलपति प्रा. स्वाईं तथा सम्पूर्ण टोलीलाई बधाई ज्ञापन गर्दै यो पुस्तकले विश्वविद्यालयलाई शिक्षा र गुणस्तरको नयाँ उचाइमा पुर्याउन प्रेरक एवं सहायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।





