सिलगढी: भारत-नेपाल सीमा क्षेत्रमा हुने अवैध वन्यजन्तु तस्करी तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणका उद्देश्यले सिलगढीनजिकै सुकनास्थित एनआईसीमा आयोजना गरिएको दुई दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
अक्टोबर ८ र ९ तारिख सञ्चालन भएको उक्त तालिम दार्जिलिङ वन्यजन्तु प्रभाग र अशोक ट्रस्ट फर रिसर्च इन इकोलोजी एन्ड द इन्भायरन्मेन्ट (एट्री) को संयुक्त आयोजनामा सम्पन्न भएको हो। तालिममा भारत-नेपाल सीमा क्षेत्रमा खटिएका ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी) का सदस्यहरूको सहभागिता रहेको थियो।
यसैगरी कार्यक्रममा भारत र नेपालका सीमावर्ती क्षेत्रमा कार्यरत वन अधिकारीहरू, विभिन्न सुरक्षा तथा कानुन कार्यान्वयन एजेन्सीका प्रतिनिधिहरू एवं वन्यजन्तु अपराध नियन्त्रण ब्युरो (डब्ल्यूसीसीबी) को सीमा एकाइका अधिकारीहरूको समेत उपस्थिति थियो।
तालिमका क्रममा सीमापार हुने वन्यजन्तु तस्करीको पहिचान, वन्यजन्तु अपराधको अनुगमन, गैरकानुनी गतिविधिको खोजी तथा यस्ता अपराध रोक्ने प्रभावकारी उपायहरूबारे गहन छलफल र प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा सुकनाका रेन्ज अफिसर दीपक रसाइली, वन्यजन्तु अपराध नियन्त्रण ब्युरोका निरीक्षक के. पोद्दार, डा. सुनिता प्रधान र डा. नकुल क्षेत्रीले विषयविज्ञका रूपमा प्रशिक्षण दिएका थिए। उनीहरूले वन्यजन्तु अपराधको अनुगमन, तस्करी सञ्जालको पहिचान र सीमापार हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्ने रणनीतिबारे महत्त्वपूर्ण अनुभव तथा सुझावहरू प्रस्तुत गरेका थिए।





