जोङ्गु: ‘स्वच्छता नै सेवा २०२६’ अभियानअन्तर्गत सिक्किमको जोङ्गुस्थित पास्सिङदाङमा आयोजित ‘कबाड से जुगाड’ (फोहोरबाट मोहर) प्रतियोगिताका बीच पास्सिङदाङका खण्ड विकास अधिकारी (बीडिओ) डा. महिन्द्र तामाङ सम्मानितिएका छन्।सिक्किम ग्रामीण जीविकोपार्जन मिसन (एसआरएलएम) अन्तर्गतको ब्लक डेभलपमेन्ट सोसाइटी (बीडीएस) द्वारा शुक्रबार आयोजित कार्यक्रममा जोङ्गुका स्वयंसहायता समूह (एसएचजी) का तर्फबाट डा. तामाङलाई वातावरणीय संरक्षण र समुदायमा पुर्याएको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरिएको हो। डा. तामाङले वातावरण संरक्षणको सन्देश दिँदै आफैँले करिब १८ किलोमिटर दूरीसम्म फोहोर बोकेर अनुकरणीय कार्य गरेका थिए।महिला सशक्तीकरण, वातावरण संरक्षण र दिगो ग्रामीण विकासका उद्देश्यले आयोजित उक्त प्रतियोगितामा फोहोर तथा काम नलाग्ने वस्तुहरूलाई रचनात्मक तरिकाले पुनः प्रयोग गरी उपयोगी तथा सजावटका सामानहरू तयार पारिएको थियो।कार्यक्रममा स्वागत मन्तव्य राख्दै एसआरएलएमका ब्लक प्रोजेक्ट म्यानेजर रमेश क्षेत्रीले सृजनात्मक सोच र नवप्रवर्तनमार्फत फोहोरलाई पनि आयआर्जनको माध्यम बनाउन सकिने बताए। उनले यस्ता प्रयासले वातावरण स्वच्छ राख्नुका साथै ग्रामीण महिलाहरूको आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।उद्यान विभागकी अध्यक्ष ओङ्कित लेप्चाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राज्य ग्रामीण विकास संस्थान (एसआईआरडी) का कनिष्ठ संकाय सुरेन मोहरा, क्रेसिल का प्रतिनिधि, वित्तीय साक्षरता परामर्शदाता तथा स्टेट बैंक अफ इन्डिया (एसबीआई) गान्तोकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको समापनमा बीडीएस जोङ्गुकी प्रबन्धक पेमकिट लेप्चाले धन्यवाद ज्ञापन गर्दै वातावरणीय दिगोपना, वित्तीय साक्षरता र महिला उद्यमीहरूको प्रवर्द्धनका लागि सामूहिक प्रयास निरन्तर जारी रहने बताइन्।





