तत्काल राहत र आवासको घोषणा
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले हालै गएको पहिरोबाट प्रभावित युक्सोम-ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गतको रिम्बी गाउँको निरीक्षण गर्दै पीडित परिवारहरूसँग भेटघाट गरेका छन्।
शुक्रबार पहिरोग्रस्त क्षेत्र पुगेका मुख्यमन्त्री तामाङले प्रभावित परिवारको अवस्थाबारे जानकारी लिँदै राज्य सरकारका तर्फबाट तत्काल राहत तथा दीर्घकालीन पुनर्वासको घोषणा गरेका हुन्।
पहिरोबाट मानवीय क्षति नभए पनि ठूलो परिमाणमा घर र भौतिक सम्पत्तिको क्षति भएकोमा दुःख व्यक्त गर्दै उनले सङ्कटको यस घडीमा राज्य सरकार पीडितहरूको साथमा रहेको बताए।

पहिरोका कारण घरबार गुमाएका र असुरक्षित बनेका परिवारहरूप्रति मेरो गहिरो सहानुभूति छ,” मुख्यमन्त्री तामाङले भने, “सङ्कटको समयमा हाम्रा नागरिकको सुरक्षा र कल्याण नै सरकारको मुख्य प्राथमिकता हो।”
निरीक्षणका क्रममा मुख्यमन्त्री तामाङले मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) बाट क्षतिअनुसार नगद र चेक हस्तान्तरण गरेका छन्। साथै, पहिरोमा घर गुमाएका परिवारहरूलाई ‘सिक्किम गरिब आवास योजना’ (एसजीएवाई) अन्तर्गत जग्गा पट्टा वितरण गरिएको छ। विस्थापित परिवारका लागि शीघ्र सुरक्षित घर निर्माणको व्यवस्था मिलाइने प्रतिबद्धता पनि उनले जनाएका छन्।
उद्धार तथा राहत कार्यमा खटिएका सरकारी अधिकारी, गैरसरकारी संस्था, राजनीतिक दलका प्रतिनिधि एवं स्थानीय बासिन्दालाई धन्यवाद दिँदै उनले नागरिकको सुरक्षा र गरिमालाई केन्द्रमा राखेर सरकारले पुनर्वासको काम अघि बढाउने बताए।





