कवि अनन्त श्रेष्ठ मातृशोकमा

Krishnamaya-Shrestha

बाग्राकोट: डुवर्सका सुपरिचित कवि/निबन्धकार एवं डुवर्स नेपाली साहित्य विकास समितिका पूर्व कोषाध्यक्ष अनन्त श्रेष्ठ र साहित्य परिक्रमा परिवार, बाग्राकोटका कर्मठ सदस्य अजय श्रेष्ठका माता कृष्णमाया श्रेष्ठको हिजो अपरान्ह ४.२० बजे निधन भएको छ। उनी केही महिनादेखि बिरामी थिइन् र मुम्बईमा केही दिनको उपचार गराएपछि घर ल्याइएको थियो। मृत्युको समय उनको उमेर ७७ वर्ष थियो। उनले आफूपछि दुई छोरा-बुहारी, दुई छोरी-ज्वाइँ र नाता-नातिनीहरू छोड़िगएकी छन्। सोमबार दिउँसो स्थानीय लिस नदीमा उनको अन्तिम संस्कार गरियो। दाह संस्कारको समयमा एउटा शोक सभा आयोजन गरी कृष्णमाया श्रेष्ठलाई स्थानीय मानिसहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरे। लेखक रूपेश शर्माले उनलाई एक श्रमिक नेतृ बताउँदै उनको सामाजिक भूमिकामाथि प्रकाश पारे। एक समयकी लड़ाकु श्रमिक नेतृ कृष्णमाया श्रेष्ठले एकता समाजको सामाजिक जागरण कालमा एक सक्रिय महिला अभिभावकको भूमिका निर्वाह गरेकी थिइन्। उनको निधनमा डुवर्सका विभिन्न संघ-संस्थाहरूले गहिरो शोक प्रकट गरेका छन्। डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रविन खवासले संस्थाको पक्षबाट गहिरो शोक प्रकट गर्दै उनको निधनले एक अभिभावक गुमेको बोध भएको मन्तव्य गरे। उनले भने, ‘कृष्णमाया श्रेष्ठको निधनले हामी मर्माहत छौं। उनीबाट हामीले सधैं अभिभावकीय प्रेम र सान्निध्य पायौं। उनका मार्गदर्शनले भरिएका सुवचन र कर्महरू हाम्रो मानसमा सधैं जीवित रहनेछ। विकास समितिको पक्षबाट म उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’ उल्लेखनीय छ, कृष्णमाया श्रेष्ठका छोरा अनन्त श्रेष्ठ विकास समितिको यसअघिको कार्यकालका कोषाध्यक्ष हुन्। यसैगरी, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले पनि उनको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। प्रतिष्ठानका महासचिव रूपेश शर्माले भने, ‘कृष्णमाया श्रेष्ठ हामी सबैका उत्साह र प्रेरणाका स्रोत थिइन्। बाग्राकोट तथा डुवर्सका अहिलेका केही प्रतिष्ठित युवाहरूलाई उनी सधैं जोश र हिम्मत प्रदान गर्थिन्। एकता समाजको डुवर्स जागरण अभियानमा उनले महत्त्वपूर्ण योगदान दिइन्। उनी स्वयं एक संग्रामी श्रमिक नेतृ थिइन् अनि  चियाश्रमिकहरूका हक-हितका मुद्दामा खुलेर आवाज उठाउँथिन्। उनको निधनले हामी शोकित छौं।’ डुवर्सकै सबैभन्दा सक्रिय वैचारिक मञ्च साहित्य परिक्रमा परिवार, बाग्राकोटले पनि उनको निधनमा शोक प्रकट गरेको छ। परिक्रमा परिवारका सक्रिय सदस्यहरू उनको शवयात्रामा सहभागी भई उनलाई श्रद्धाञ्जली अर्पण गरेl
पारिवारिक स्रोतअनुसार आउँदो १० जूनको दिन उनको १३ दिने शुद्धिकार्य तथा अन्त्येष्टि क्रिया परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement