पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसिम अन्सारी पक्राउ

fdde4a31-3fe0-4b13-8986-e690fb97afdb

काठमाडौं: पशुपतिनाथ मन्दिरको मुख्य गर्भगृहभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसिम अन्सारी पक्राउ परेका छन्। पशुपति क्षेत्र विकास कोषको उजुरीका आधारमा पुलिसले दुवै जनालाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका परियार र अन्सारीलाई काठमाडौंस्थित गौशाला पुलिस वृत्तमा पठाइएको छ।
पशुपतिनाथ मन्दिरमा गैर–हिन्दू व्यक्तिको प्रवेशलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरु भएपछि दुवै जनालाई पक्राउ गरिएको हो। प्रेम विवाह गरेका ओसिम र प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेर एउटा भिडियो बनाएका थिए। उनीहरूले बनाएको भिडियोमा अन्सारी मुस्लिम समुदायले लगाउने टोपी लगाएको अवस्थामा देखिएका थिए। यही टोपीलाई लिएर सांसद खुश्मु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्।
सांसदले प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले दुवै जनाविरुद्ध पुलिसमा उजुरी दिएको थियो। त्यसपछि इटहरीस्थित आफ्नो घर पुगेका दुवै जनालाई पुलिसले आज पक्राउ गरेको हो।
अन्सारी दम्पतीले हिजो मात्रै एउटा भिडियो जारी गर्दै आफूहरू मन्दिरभित्र प्रवेश गर्न नसकेको स्पष्टीकरण दिएका थिए। उनीहरूका अनुसार, आफूहरू मुख्य ढोकाबाट भित्र प्रवेश गरे पनि सिँढीबाटै फर्काइएको थियो।
प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र आफ्नो पतिलाई पनि मन्दिर देखाउन आफूले त्यहाँ लगेको बताएकी थिइन्।
अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्। उनी इटहरी–८ का स्थायी बासिन्दा हुन्।

About Author

Advertisement