सोनादा: रङ्ली रङ्लियट चियाबारीका श्रमिकहरूको बक्यौता, वेतन तथा बोनस भुक्तानीको माग
गरिएको छ। सिलगढीको डागापुरमा रङ्ली रङ्लियट चियाबारीका श्रमिकहरूको विभिन्न समस्या तथा बक्यौता भुक्तानीको विषयलाई लिएर श्रमिक भवनमा एडिसनल लेबर कमिश्नर, नर्थ बंगाल जोन अमोल मजुमदारसँग भेटघाट गरी समस्याबारे विस्तृत रूपमा अवगत गराइएको छ। भेटका क्रममा भाजपाको श्रमिक संगठन दार्जिलिङ जिल्लाका महासचिव प्रणय शेर्पाले चियाबारीमा कार्यरत श्रमिकहरूले लामो समयदेखि आफ्नो बक्यौता रकम तथा वेतन प्राप्त गर्न नसकेको विषय गम्भीर रूपमा उठाएको बताएका छन्। यसको साथै आर्थिक वर्ष १०१५–२०२६ का लागि सरकारले तोकेको समयसीमा समाप्त भइसक्दा समेत श्रमिकहरूलाई बोनस भुक्तानी नगरेको विषयमा पनि ध्यानाकर्षण गराएका छन्।
श्रमिकहरूले इमानदारीपूर्वक आफ्नो श्रम र योगदान दिइरहेको अवस्थामा उनीहरूको पारिश्रमिक, बक्यौता तथा कानुनी रूपमा पाउनुपर्ने बोनस रोकिराख्नु अत्यन्तै अन्यायपूर्ण भएको भन्दै महासचिव शेर्पाले श्रम कानुन तथा सरकारी निर्देशनको अवहेलना गर्ने व्यवस्थापनमाथि कडा कानुनी तथा प्रशासनिक कारबाही गर्नुपर्ने माग राखेका छन्। यसको साथै श्रमिकहरूको आर्थिक अवस्था र चाडपर्वको समयलाई ध्यानमा राख्दै बक्यौता वेतन तथा बोनस यथाशीघ्र भुक्तानी गराउन श्रम विभागले प्रभावकारी पहल गर्नुपर्ने मागसमेत राखिएको छ।





