एनबीयूको रजत जयन्तीमा पूर्वविद्यार्थी बनेर पुगे मन्त्री मजुमदार, डा. शंकर घोष

FB_IMG_1791130648848

नेतृत्व संकट हल गर्ने प्रतिबद्धता

​सिलगढी: ​उत्तर बंगाल विश्वविद्यालय (एनबीयू) को रजत जयन्ती वर्ष समारोहको औपचारिक समापन कार्यक्रमका अवसरमा केन्द्रीय शिक्षा तथा उत्तर-पूर्वी क्षेत्र विकास राज्यमन्त्री डा. सुकान्त मजुमदारले आफूले अध्ययन गरेको वनस्पतीशास्त्र (बोटानी)य विभागको विशेष भ्रमण गरेका छन्।
​आफ्नो पुरानो विभाग पुग्दा मन्त्री मजुमदार निकै भावुक बनेका थिए। उनले अध्ययनका क्रमका पुराना दिनहरू सम्झिँदै विभागका प्राध्यापक तथा विद्यार्थीहरूसँग अनुभव साटासाट गरे। कार्यक्रममा उनीसँगै राज्यका पर्यटन मन्त्री डा. शंकर घोषको पनि उपस्थिति रहेको थियो। मन्त्री घोष पनि सोही वनस्पतीशास्त्र विभागकै पूर्वविद्यार्थी हुन्। दुवै मन्त्रीहरूले आफ्नो शैक्षिक यात्राको सुरुआती थलोमा पुगेर खुसी व्यक्त गरे।
​भ्रमणलाई स्मरणीय बनाउन केन्द्रीय मन्त्री मजुमदारले विभाग परिसरमा वृक्षरोपणसमेत गरे।
​कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री मजुमदारले उत्तर बंगाल विश्वविद्यालयमा पछिल्लो समय देखिएको प्रशासनिक अन्योल र नेतृत्वको अभावप्रति गम्भीर चिन्ता व्यक्त गरे। विश्वविद्यालयको प्रशासनिक सुदृढीकरणबारे बोल्दै उनले भने, “विश्वविद्यालयमा हाल देखिएको नेतृत्व संकट र यसको स्थायी समाधानका लागि प्रमुख सचिव, राज्यका उच्च शिक्षा मन्त्री तथा स्थानीय विधायकहरूसँग गहन छलफल भइसकेको छ।”
​उनले विश्वविद्यालयको पठनपाठन र प्रशासनिक कामकाजलाई सहज बनाउनका लागि समस्याहरूको शीघ्र समाधान खोज्ने प्रयास तीव्र गतिमा भइरहेको समेत बताए।

About Author

Advertisement