किभ: रूसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ।
साथै, किभका स्थानीय बासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रूसले सल्लाह दिएको हो।
रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रूसले किभसहित अन्य युक्रेनी सहरमा रहेका सैन्य पूर्वाधारलाई लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ। मन्त्रालयले युक्रेनी सेनाले रूसको नागरिक र पूर्वाधारविरुद्ध गरेका ‘आतंकवादी कार्य’को प्रतिक्रियाका रूपमा यस्ता आक्रमण जारी राख्ने बताएको हो।
चेतावनी बेवास्ता गर्दा हुन सक्ने कुनै पनि प्रतिकूल परिणामको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने मस्कोले चेतावनी दिएको छ।
यसअघि, रूसले मे २५ मा विदेशी साझेदारलाई पठाएको कूटनीतिक नोटमार्फत पनि यस्तो चेतावनी दिएको थियो। त्यसपछि मे २७ मा उप विदेश मन्त्री मिखाइल गालुजिनले कूटनीतिक नियोगका प्रतिनिधिका लागि गरेको ब्रिफिङमा यो विषय दोहोर्याएका थिए।
रूसी विदेश मन्त्रालयले अमेरिका, बेलायत, युरोपेली संघका सदस्य राष्ट्र, नर्वे र स्विजरल्याण्डलगायत धेरै देशले पनि आफ्ना नागरिकलाई युक्रेनको यात्रा नगर्न पटक-पटक सल्लाह दिँदै आएको बताएको
छ।





