नयाँ दिल्ली: एशियाई खेलहरूको क्रिकेट खेलमा भारतलाई दोहोरो सफलता हासिल भयो। महिला क्रिकेट टोलीपछि शनिवार श्रेयस अय्यरको कप्तानीमा रहने पुरुष क्रिकेट टोलीले पनि स्वर्ण पदक जित्यो। यसरी भारतको महिला र पुरुष दुवै क्रिकेट टोलीले आफ्नो स्वर्ण पदक सफलतापूर्वक रक्षा गऱ्यो। भारतीय महिला र पुरुष क्रिकेट टोलीले २०२३ हांगझोउ एशियाई खेलहरूमा पनि स्वर्ण पदक जितेको थियो। भारतीय पुरुष टोलीले आज खेलिएको रोमाञ्चक फाइनलमा चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गऱ्यो। निशिनको कोरोगी स्पोर्टस पार्कमा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ६ विकेट गुमाेर २११ रनको विशाल स्करो बनायो। त्यसपछि पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो। म्याचमा पहिला ब्याटिंग गर्दै भारतको तर्फबाट अभिषेक शर्मा (६१) र तिलक वर्मा (अविजित ५१ रन)-ले विध्वंशी अर्द्धशतक बनाए। आज टोलीलाई तेज शुरुवात दिलाउने वैभव सूर्यवंशी २ वटा छक्काको सहायताले ९ बलमा १५ रन बनाएर आउट भए जबकि सञ्जु सेमसनले केवल २ रनको योगदान दिए। यसबीच अभिषेकले चाहिँ आफ्नो चीरपरिचित मिजासमा खेल्दै पाकिस्तानका बलरहरूलाई शास्ती दिन जारी राखे। अभिषेकले २८ बलमा ७ वटा छक्का र ३ वटा चौकाको सहायताले ६१ रन बनाए। भारतले पछिबाट कप्तान श्रेयस अय्यर र ईशान किशनको विकेट लगातार अन्तरालमा गुमायो, जसले क्रमशः २१ र २० रन बनाए। अन्तिम ओभरहरूमा तिलक वर्माले असाधारण ब्याटिंग गर्दै भारतको स्कोर २०० पारी पुऱ्याए। उनले शिवम दुबेबाट असल साथ पाए। तिलक र दुबेले छैटौं विकेटको निम्ति ६२ रनको साझेदारी गरे। यी दुईजनाले अन्तिम ५ ओभरमा तेजीको साथ रन बनाए। दुबेले २ वटा छक्का र २ वटा चौकाको सहायताले १५ बलमा २७ रन बनाए। यसरी उपकप्तान तिलकले २२ बलमा अविजित ५१ रन बनाए, जसमा ४ वटा छक्का र ३ वटा चौका सामेल छ। पाकिस्तानका बलरहरूमा अहमद दनियाल र अराफात मिन्हासले २-२ विकेट लिए। म्याच जित्न २१२ रनको विशाल लक्ष्यलाई अघि राखेर खेल्दै पाकिस्तानको शुरुवात खराब रह्यो अनि एक समय ३९ रनमै ३ विकेटको पतन भइसकेको थियो। त्यसपछि पाकिस्तानको निम्ति हसन नवाजले लड़ाइँ शुरु गरे। उनले सईम अयूबसँग मिलेर चौथो विकेटको निम्ति ८७ रनको साझेदारी गरी सईमले २२ बलमा २९ रन बनाए। चौथो विकेटको पतनपछि नवाजले अन्य खेलाड़ीहरूबाट असल साथ पाएनन्। अब्दुल समद ९ रन बनाएर आउट भए। टोलीलाई बचाउन आफ्नो सर्वश्रेष्ठ प्रयास गर्ने नवाज ईनिंग्सको अन्तिम बलमा आउट भए। उनले ५१ बलमा ९६ रन बनाए, जसमा ७ वटा छक्का र ५ वटा चौका सामेल छ। यसरी साद मसूद १२ रनमा अविजित रहे। उनले २ वटा छक्का लगाए। भारतीय बलरहरूमा अक्षर पटेल, वाशिंगटन सुन्दर र शिवम दुबेले २-२ विकेट लिए। उल्लेखनीय छ, एशियाई खेलहरूमा भारतीय पुरुष टोली भीभीएस लक्ष्मणको मार्गदर्शनमा खेल्न ओर्लिएको थियो।





