राजगञ्ज: बेलाकोवा रेञ्ज अधिकारी सञ्जय दत्तको सहयोगमा एकजना नानी स्वस्थ भएर घर फर्किआएका छन् ।यस नानीको परिवारका सदस्यहरूले रेञ्जर सञ्जय दत्तप्रति धन्यवाद टक्राएका छन्। जानकारी अनुसार राजगञ्जको माझियाली ग्राम पञ्चायत अन्तर्गत धनेश्वरी गाउँ निवासी दैनिक मजदुर दम्पत्ति राजेश राय र तिनकी स्वास्नी टुम्पा रायको तीन वर्षीय नानी जटिल रोगले पीड़ित रहेकोले नानीलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचार गरे तापनि स्वस्थ नभएको साथै नानीलाई बाहिर लगेर उपचार गराउने समेत उक्त परिवारको आर्थिक क्षमता थिएन। यसपछि उक्त दम्पत्तिले नानीको उपचारको लागि विभिन्न ठाउँमा सहयोग मागे तापनि सो नपाएपछि अन्ततः तिनीहरूले बेलाकोवा रेञ्जर सञ्जय दत्तसमक्ष सहयोगको गुहार लगाए। यसपछि रेञ्जर सञ्जय दत्तले राजगञ्ज ग्रामीण अस्पतालको माध्यमद्वारा जलपाईगढी जिल्ला स्वास्थ्य कार्यालयबाट नानीको लागि शिशुसाथी परियोजनाको व्यवस्था गरिदिए। उक्त परियोजनामार्फत् रोगी नानीको कोलकाताको आरएन टेगोर अस्पतालमा उपचार गरेपछि स्वस्थ भएर घर फर्किआएको छ। बाबु राजेश रायले बताए अनुसार रेञ्जर सञ्जय दत्त आफूहरूको साथमा रहेकोले मेरो छोराको उपचार गर्न सम्भव भएको हो। तिनले आफूहरूलाई सहोयग पुऱ्याएकोले गर्दा नै आज आफूहरू रेजर कार्यालय गएर सहयोगको लागि तिनलाई धन्यवाद दियाँ तिनी हाम्रो लागि भगवानको स्वरूप हुन्। यस सम्बन्धमा रेञ्ज अधिकारी सञ्जय दत्तले भने, उक्त गरिब दम्पतिले आफ्नो नानीको उपचार गर्न नसकेपछि आफूसित सहयोगको अपील गरेका थिए। यसैले राजगञ्ज ग्रामीण अस्पतालको माध्यमद्वारा जलपाईगढी जिल्ला स्वास्थ्य विभागबाट नानीको लागि शिशु साथी परियोजनाको व्यवस्था गरिदिए। यसपछि कोलकाताको आरएन टेगोर अस्पतालमा उक्त नानीको उपचार गरेपछि स्वस्थ भएर घर फर्कि आएको छ। आगामी दिनमा आफू सदैव असहाय मानिसहरूको सहयोगको लागि अघि आउने तिनले बताए।









