खरसाङ: खरसाङ महकुमा प्रशासनको आयोजनामा खरसाङको गोर्खा जन पुस्तकालय भवनमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६ पालन गरिएको छ। कार्यक्रममा खरसाङका विधायक सोनम लामा, खरसाङ महकुमा शासक पेमा शेर्पासहित विभिन्न प्रशासनिक अधिकारी, जनप्रतिनिधि, गण्यमान्य नागरिक, ज्येष्ठ नागरिक एवं विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भ अतिथिहरूद्वारा दीप प्रज्वलन गरी उपस्थित ज्येष्ठ नागरिकहरूलाई परम्परागत खादा एवं पुष्पमाला अर्पण गर्दै सम्मान गरियो। कार्यक्रममा स्वागत वक्तव्य राख्दै महकुमा शासक पेमा शेर्पाले उपस्थित ज्येष्ठ नागरिकहरूप्रति आभार व्यक्त गर्दै ज्येष्ठ नागरिकहरू समाजका नैतिक मार्गदर्शक एवं संस्कृति र परम्पराका बलिया आधार भएको बताए। उनले ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, सार्वजनिक सेवामा सहज पहुँच एवं तिनीहरूको कल्याणका लागि आवश्यक कार्यक्रम सुनिश्चित गर्न महकुमा प्रशासन प्रतिबद्ध रहेको बताए। सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए।

उनले आफ्नो सम्बोधनमा ज्येष्ठ नागरिकहरू केवल विगतका साक्षी मात्र नभई हाम्रो संस्कृति, भाषा साथै सामाजिक व्यवस्थाको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जीवित मार्गदर्शक रहेको बताए। समाजको वास्तविक प्रगति केवल भौतिक पूर्वाधारबाट मात्र नभई ज्येष्ठ नागरिकप्रतिको सम्मान, संवेदना र हेरचाहबाट पनि हुने तिनले बताए।विधायक लामाले प्रशासनद्वारा आयोजित कार्यक्रमको प्रशंसा गर्दै ज्येष्ठ नागरिकहरूका लागि राम्रो स्वास्थ्य सुविधा, मनोरञ्जनका अवसर एवं प्रशासनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न समाज र प्रशासनले मिलेर काम गर्नुपर्ने बताए। यस अवसरमा शिक्षा, सामाजिक सेवा, साहित्य तथा क्षेत्रीय सामुदायिक विकासमा दीर्घकालीन योगदान पुर्याएका 12 जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। विधायक सोनाम लामा अनि महकुमा अधिकारी पेमा शेर्पाले सबै 12 जना ज्येष्ठ नागरिकहरूलाई प्रशस्तिपत्र एवं सम्मान प्रदान गरे।कार्यक्रममा सूचना एवं सांस्कृतिक विभागको लोक प्रसार प्रकल्पका कलाकार अनुषा लामा ट्रुपद्वारा परम्परागत नेपाली लोकनृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा हिमाली बोर्डिङ स्कुल एवं भिक्टोरिया ब्वाइज स्कुलका विद्यार्थीहरूले सम्मानित ज्येष्ठ नागरिकहरूसँग संवाद गरे। विद्यार्थीहरूले स्थानीय इतिहाससँग सम्बन्धित प्रश्नहरू राखेका थिए भने ज्येष्ठ नागरिकहरूले आफ्ना जीवनका अनुभव, संघर्ष, सामुदायिक सेवा एवं अन्य सम्बन्धित विचारहरू विद्यार्थीहरूसमक्ष साझा गरे।





