सन्दकफुको लेकमा मृत्यु

9ea309ac-774e-4e40-9fe4-dff67f4eaf49

२६ वर्षीय युवाको श्वास र नेपाल-भारतको ट्रेकिङ पर्यटनमाथि गम्भीर प्रश्न

देशबन्धु विश्वामित्र

फिक्कल, इलाम : “तिमी किन यति भारी सास फेर्दैछौ ? अब अगाडि जानु पर्दैन।”
सेवानिवृत्त स्कुल शिक्षक दिनबन्धु अधिकारीले आफ्ना २६ वर्षीय छोरा प्रियतोषलाई मंगलबार बिहान फोनमा गरेको यो आग्रह नै उनीहरूको अन्तिम संवाद बन्न पुग्यो। छोराले जवाफ दिए – “होइन, म चढ्न सक्छु। म जानै पर्छ।”
बुधबार बिहान, काेचबिहारको तुफानगन्जका भारतीय खाद्य निगमका युवा अधिकृत प्रियतोष मृत फेला परे। पश्चिम बंगालको सर्वोच्च शिखर सन्दकफु भन्दा करिब ५ किलोमिटर अगाडिको आले भन्ने गाउँमा उनको ट्रेकिङ समूहले बास बसेको थियो। करिब १४ किलोमिटर हिँडेपछि ज्वरो आएर उनी थप हिँड्न नसक्ने भएका थिए। राति दुई ट्याब्लेट पारासिटामोल खाएर सुतेका उनी भोलिपल्ट मृत भेटिए।यो केवल एक मृत्यु होइन, चेतावनी हो
प्रियतोषको मृत्युले सन्दकफु क्षेत्रमा ट्रेकिङ गर्नेहरूका लागि अनिवार्य स्वास्थ्य जाँचको पुरानो प्रस्तावलाई फेरि सतहमा ल्याएको छ। सन्दकपुर क्षेत्र समुद्र सतहबाट करिब १२ हजार फिट उचाइमा छ।
उनको मृत्युको कारण भने अझै खुलेको छैन। शवलाई शव-परीक्षणका लागि दार्जिलिङ सदर अस्पताल लगिएको छ। बिहीबार शव-परीक्षण गरिनेछ।
पारिवारिक स्रोतका अनुसार प्रियतोषले सेप्टेम्बर २७ मा पाँच जनाको समूहसँग ट्रेक सुरु गरेका थिए। समूहमा उनका विश्वविद्यालयका साथी र कार्यस्थलका साथी थिए। उनीहरूले सिक्किमको उत्तरेबाट ट्रेक सुरु गरी सोमबार बिहान फालुट पुगेका थिए। मंगलबार समूह सन्दकफुतर्फ लागेको थियो।
१०:३० बजे बिहान बुबा दिनबन्धु र आमा पुष्पाले फोन गर्दा उनी भारी श्वास फेर्दै हिँडिरहेका थिए। बुबाले रोकिन आग्रह गर्दा पनि उनले मानेनन्।
दार्जिलिङका चिकित्सक डा. विकास देवान भन्छन् – “दार्जिलिङकै मान्छेका लागि पनि सन्दकपुर ट्रेक निकै कठिन हो। यात्रा अघि स्वास्थ्य जाँच अनिवार्य छ।” उनले २६ वर्षको जस्तो युवा उमेरमा पनि लुकेको हृदय रोग हुन सक्ने र त्यसैले मृत्यु भएको हुन सक्ने बताए।
स्रोतका अनुसार सन्दकफु क्षेत्रमा ट्रेकर्सका लागि अनिवार्य स्वास्थ्य परीक्षणको प्रस्ताव प्रशासनिक बैठकहरूमा पटक-पटक छलफल भएको थियो। गत वर्ष दार्जिलिङ जिल्ला प्रशासनले राज्य सरकारलाई प्रस्ताव समेत पठाएको थियो, तर कार्यान्वयन भएन।
प्रियतोषले २०२४ मा विधानचन्द्र कृषि विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरी सोही वर्ष भारतीय खाद्य निगममा जागिर पाएका थिए। हाल उनी बिहारको मोतिहारीमा कार्यरत थिए। उनकी दिदी दीपशिखा कोलकातामा आयकर विभागमा कार्यरत छिन्, भाईको मृत्युको खबर पाएपछि उनी बुधबार कुचबिहारतर्फ लागेकी छिन्।
किन दोहोरिन्छ सन्दकफुमा यस्तो त्रासदी ?
१. रिल र रोमान्चको भ्रम: आज ट्रेकिङ टिकटक, इन्स्टाग्राम र फेसबुक रिलको विषय बनेको छ। २६ वर्षीय प्रियतोषजस्ता हजारौं युवालाई लाग्छ – हिमाल भनेको फोटो खिच्ने ठाउँ हो। तर १२ हजार फिटमा अक्सिजन ४० प्रतिशत कम हुन्छ। चिकित्सकको भाषा बिना, पहाडले कसैलाई माफी दिँदैन।
२. बिना तयारी, बिना गाइडको लहड: दार्जिलिङका आफ्नै डाक्टरले “दार्जिलिङकै मान्छेलाई पनि गाह्रो छ” भन्दा, बाहिरबाट आउनेले स्वास्थ्य परीक्षण बिना, भरिया गाइड र अक्सिमिटर बिना जानु आत्महत्यासरह हो।
३. प्रशासनको लापरबाही: प्रस्ताव दराजमा थन्क्याउने प्रवृत्ति नेपाल र भारत दुवैतिर उस्तै छ। अनिवार्य स्वास्थ्य जाँच, ट्रेकिङ इन्स्योरेन्स, आधारभूत स्वास्थ्य चौकी र हेलिकप्टर उद्धार प्रणाली बिना सन्दकफुलाई पर्यटकीय नगदमा साट्नु अपराध हो। सन्दकपुर नेपाल-भारत सीमाको संयुक्त सम्पदा हो, यसको व्यवस्थापनमा दुवै देशको साझा मापदण्ड चाहिन्छ।
प्रियतोषको अन्तिम शब्द थियो – “म जानै पर्छ।” यो जिदले उनको ज्यान लियो। अब प्रश्न हामीतिर फर्किएको छ – के हामी अझै पनि “जानै पर्छ” भन्ने लहडमा युवालाई बिना जाँच पहाड पठाइरहने?

About Author

Advertisement