गेलसिङमा जिल्लास्तरीय विद्यालय खेलकुद २०२६ सम्पन्न

FB_IMG_1790706501808

​गेलसिङ: खेलकुद तथा युवा मामिला विभाग, गेलसिङ जिल्लाको आयोजनामा सञ्चालित जिल्लास्तरीय विद्यालय खेलकुद २०२६ आज पीएम श्री पेलिङ सिनियर सेकेन्डरी स्कुलको खेलमैदानमा समापन भएको छ। हप्ताभरि चलेको यो खेलकुद प्रतियोगितामा विभिन्न खेल विधाहरू समावेश थिए।
​गत २१ सेप्टेम्बरदेखि सुरु भएको यस प्रतियोगितामा १७ वर्षमुनि (यू-१७) र १९ वर्षमुनि (यू-१९) उमेर समूहका लागि धनुर्विद्या, एथलेटिक्स, बक्सिङ, कबड्डी, कराँते, खो-खो, टेबल टेनिस र तेक्वान्दो खेलहरू आयोजना गरिएका थिए। गेलसिङ जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका थिए।
​समापन समारोहमा गेलसिङका जिल्लापाल (District Collector) श्री तेन्जिङ डी. डेन्जोङपा मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँका साथमा आईसीआरडीका डीआईओ श्री राजेन्द्र तामाङ, खेलकुद तथा युवा मामिला विभागकी अतिरिक्त निर्देशक श्रीमती निकजे ल्हामु भुटिया, विभिन्न अधिकारीहरू, शारीरिक शिक्षा शिक्षकहरू, प्रशिक्षकहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
​कार्यक्रममा खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘सिक्किमका म्याराथन म्यान’ श्री अमर सुब्बा, गेलसिङ जिल्ला किक-बक्सिङ सङ्घका अध्यक्ष तथा प्रशिक्षक श्री गोपाल सुब्बा र समाजसेवी एवम् खेलकुद संयोजक श्री बिराज सुब्बालाई सम्मान गरिएको थियो।
​यसैगरी, उदयीमान युवा खेलाडीहरू – बक्सिङतर्फ सुश्री सानी हाङमा सुब्बा र श्री नवीन लिम्बू तथा तेक्वान्दोतर्फ श्री अनिवेश दाहाल र श्री अनुग्रह राईलाई पनि सम्मान गरियो।
​समापनका दिन १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र १५०० मिटर दौड, लङ जम्प, शटपुट तथा ४×१०० मिटर रिले दौडका फाइनल प्रतिस्पर्धाहरू गराइएको थियो। साथै खो-खो र कबड्डीका फाइनल खेलहरू र रुङडु किक-बक्सिङ सङ्घका विद्यार्थीहरूद्वारा किक-बक्सिङको प्रदर्शन (Sparring Demonstration) प्रस्तुत गरिएको थियो।
​कार्यक्रमको अन्त्यमा विजेता तथा सहभागीहरूलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो।

About Author

Advertisement