‘सबुज साथी’ को सट्टा ‘सारथी’ योजना लागू

oardefault

​हावडा: परिवर्तित पश्चिम बंगाल सरकारले विद्यार्थीहरूका लागि सञ्चालित पूर्ववर्ती ‘सबुज साथी’ योजनालाई विस्थापित गर्दै नयाँ ‘सारथी’ योजनाको औपचारिक शुभारम्भ गरेको छ। हावडाको बैटरास्थित मधुसूदन पाल चौधरी उच्च विद्यालयमा मङ्गलबार आयोजित एक विशेष कार्यक्रमका बिच मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस योजनाको उद्घाटन गरेका हुन्।
​नयाँ व्यवस्था अनुसार अब कक्षा ९ का सट्टा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई नै साइकल वितरण गरिनेछ। मुख्यमन्त्री अधिकारीका अनुसार राज्यभरका १२ लाख ५९ हजार विद्यार्थीहरू यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।
​यसअघिको तुलनामा उच्च गुणस्तरका साइकलहरू वितरण गरिने र तिनको रङ गेरूवा रहने जनाइएको छ। साथै, साइकलमा रहेको ‘विश्व बङ्गला’ को लोगो हटाएर नयाँ लोगो राखिएको छ। मुख्यमन्त्री अधिकारीले योजनाको नाम र लोगो मात्र परिवर्तन नगरी गुणस्तर जाँचको समेत विशेष व्यवस्था गरिएको बताए। विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिँदै साइकलमा उपयुक्त लाइट (प्रकाश) र बलिया टायरहरू जडान गरिएका छन्।
​कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले चुनावका क्रममा गरिएको वाचा सरकारले पूरा गरेको दाबी गरे। पूर्ववर्ती सरकारलाई लक्षित गर्दै उनले विगतमा पूर्व मुख्यमन्त्रीका आफन्तहरू यस्ता काममा संलग्न हुने गरेको र अब भने प्रणालीमै सुधार ल्याइएको बताए। पहिले पञ्जाबबाट पार्टपुर्जाहरू ल्याएर साइकल तयार पारिने गरेकोमा अब राज्यभित्रै साइकल निर्माण गरिने र त्यसका लागि कारखाना खोल्न जग्गा उपलब्ध गराइने घोषणा समेत उनले गरे।
​औपचारिक कार्यक्रमको समाप्तिपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले विद्यालयका विद्यार्थीहरूसँगै एउटै टेबलमा बसेर मध्याह्न भोजन (मिड-डे मिल) ग्रहण गर्नुका साथै केही समय कुराकानी समेत गरेका थिए।

About Author

Advertisement