काठमाडौं: सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार धर्मराज मल्ललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मल्ललाई बन्दीसहित २४ घण्टाभित्र उपस्थित गराई लिखित जवाफ पेस गर्न गृह मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आदेश दिएको हो। पत्रकार मल्ल आशिष मल्ल ठकुरीका नामले चिनिन्छन्।
विद्युतीय अपराधको आरोपमा मल्ल पक्राउ परेका थिए। आफ्ना श्रीमानलाई विनापुर्जी सितम्बर २३राति पक्राउ गरिएको दाबीसहित मल्लकी श्रीमती भावना बुढाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन्। हातहतियारसहित आएका प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७, फिक्कल चोकस्थित मल्लकी बहिनीको घरबाट पक्राउ गरेको भनाइ रिट निवेदक बुढाको छ।
बन्दीको रिहाइका लागि बहस गरेका अधिवक्ता राजीव बास्तोलाले पत्रकार मल्ललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चबाट सोमबार (सितम्बर २८) आदेश भएको जानकारी दिए। पक्राउ परेका मल्ल नेपालगञ्जका पत्रकार हुन्। बास्तोलाले ३०सितम्बर १० बजे महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित मल्ललाई उपस्थित गराउन सर्वोच्चबाट आदेश भएको जानकारी दिए।





