फायर इट्युनगिजर वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

52a485b3-a40b-4b84-9f4f-9b66369f80c0

सोनादा: जोरबङ्गलो सुखे खण्ड होमस्टे वेलफेयर एसोसिएसनको तत्त्वावधानमा होमस्टे सञ्चालक तथा सम्बन्धित प्रतिनिधिहरूलाई लक्षित गरी फायर इट्युनगिजर वितरण तथा अग्नि सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।एसोसिएसनकी अध्यक्षा उर्मिला शेर्पा, सचिव अनिल पाख्रिन तथा कोषाध्यक्ष राजेन शर्माको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो।कार्यक्रममा संगठनका प्रतिनिधिहरू छेते शेर्पा, वीरबहादुर राई लगायत अन्य प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
होमस्टे तथा घरायसी क्षेत्रमा आगलागीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै संघको निर्देशन तथा पहलमा राम्रो गुणस्तरको फायर सिलिन्डर न्यूनतम दरमा वितरण गरिएको हो। यस पहलले होमस्टे सञ्चालकहरूलाई आकस्मिक आगलागीको समयमा तत्काल आवश्यक सुरक्षा उपाय अपनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। कार्यक्रमका क्रममा फायर सिलिन्डरको प्रयोग गर्ने सही तरिका, आगलागीको समयमा अप्नाउनु पर्ने सावधानी तथा सुरक्षा उपायहरूबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। यसको साथै फायर सिलिण्डरलाई नियमित रूपमा जाँच तथा मर्मत गर्नुपर्ने र एक वर्षपछि रिफिल गर्नुपर्ने सम्बन्धमा पनि आवश्यक जानकारी प्रदान गरिएको थियो। यसै क्रममा सम्बन्धित एजेन्सीका काजी बस्नेतले सहभागीहरूलाई फायर सिलिन्डर कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रत्यक्ष डेमो समेत प्रस्तुत गरी व्यावहारिक जानकारी गराएका थिए। डेमोमार्फत आगलागी भएको अवस्थामा फायर सिलिण्डरलाई सुरक्षित र प्रभावकारी ढंगले प्रयोग गर्ने तरिका सिकाइएको थियो।
होमस्टे व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिएको अग्नि सुरक्षा र आपतकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै एसोसिएसनले गरेको यस पहलले स्थानीय होमस्टे सञ्चालकहरूमा सुरक्षा सचेतना बढाउनुका साथै सम्भावित दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। संगठनले “सुरक्षा पहिलो प्राथमिकता हो। समयमै अपनाइएको सावधानीले ठूलो दुर्घटना रोक्न सक्छ।”भन्ने उद्देश्यका साथमा कार्यक्रम आयोजना गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement