नयाँ दिल्ली: भारतलाई कच्चा तेल बिक्री गर्ने विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १०० प्रतिशत महसुल (ट्यारिफ) लगाउने कानुन ल्याएपछि रूसले त्यसको कडा शब्दमा प्रतिवाद गरेको छ। रूसी तेल निर्यातले पश्चिम एसियामा जारी द्वन्द्वको प्रभावलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको र भारतलाई तेल बेचेर विश्व अर्थतन्त्रलाई ठूलो झट्काबाट जोगाएको मस्कोले दाबी गरेको छ।अमेरिकी राष्ट्रपति ट्रम्पले हालै हस्ताक्षर गरेको ‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रूस एन्ड इरान एक्ट’ अनुसार रूसबाट तेल आयात गर्ने भारत, चीन, स्लोभाकिया, हङ्गेरी र अजरबैजानजस्ता मुलुकमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकार अमेरिकालाई मिलेको छ।यसै सन्दर्भमा रूसी उपविदेशमन्त्री आन्द्रेई रुदेन्कोले भारतीय ऊर्जा सहकार्यले इरान-अमेरिका तनावका कारण वैश्विक ऊर्जा व्यापारमा पर्न सक्ने ठूलो बाधालाई हल गरेको बताएका छन्। रूस जस्तोसुकै कठिन भूराजनीतिक परिस्थितिमा पनि आफ्ना साझेदारहरूको आवश्यकता पूरा गर्न सक्षम र भरपर्दो निर्यातकर्ता रहेको उनको भनाइ छ।अर्कातिर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको कच्चा तेल तथा ऊर्जा व्यापार पूर्ण रूपमा बन्द गर्न भारतसँग अपिल गरेका छन्। रूस आफ्नो अर्थतन्त्रका लागि भारत, चीन र टर्कीमा निर्भर रहेको दाबी गर्दै जेलेन्स्कीले यी देशले ऊर्जा व्यापार रोकेमा रूस युद्ध विराम गर्न बाध्य हुने तर्क गरेका छन्।अमेरिकी चेतावनी र दबाबका बाबजुद भारतले भने आफ्नो ऊर्जा आयात बजारको अवस्था र देशको ऊर्जा सुरक्षा आवश्यकतामा आधारित हुने स्पष्ट पारिसकेको छ। भारतका लागि रूसी राजदूत डेनिस अलिपोभले पनि नयाँ दिल्लीको तेल खरिद रूसलाई सहयोग गर्न नभई भारतको आफ्नै विकास र आवश्यकताका लागि भएको भन्दै मस्को भारतको ऊर्जा आपूर्तिमा प्रतिबद्ध रहेको जनाएका छन्।





