खरसाङ: खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न अन्तर कार्यालय फुटबल लीगको दुईवटा खेलहरु सम्पन्न भयो। जसमा प्रथम खेल खरसाङ ट्राफिक गार्ड बनाम एयर फोर्समाझ सम्पन्न भयो। चरम उत्तेजनाले भरिएको यस खेलमा अन्तिम चरणमा पाएको मौकाको फाइदा उठाउँदै अन्ततः खरसाङ ट्राफिक गार्डले यो खेल जितेर दोस्रो चरणमा प्रवेश गरेका छन्। यस्तै प्रकारले दिनको दोस्रो खेलमा विद्युत विभाग अनि खरसाङ जूमाझ सम्पन्न भएको थियो भने यो म्याच पनि उत्तेजनाले भरिएको थियो । प्रथम हाफको समाप्तिसम्म खरसाङ जू १ गोलले अगाडी थियो भने दोस्रो हाफको खेलमा संसार राईको दर्शनीय गोलको सहायताले खरसाङ विद्युत विभागले बराबरी हासिल गरे भने अन्तिम सिटीसम्म दुवै दल १-१ को बराबरी रह्यो। दुवै दललाई १-१ अंक प्रदान गरियो। आफ्नो उच्च स्तरीय खेल अनि दर्शनीय गोलको गर्ने विद्युत विभागका जर्सी नम्बर ११ संसार राईलाई उक्त खेलको सर्वश्रेष्ठ खेलाडी घोषित गरियो। उनलाई खरसाङ महकुमा खेलकूद संघका अध्यक्ष मोहन योञ्जनको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो। अब बिहीबार २४ सेप्टेम्वरको दिन अन्तर कार्यालय फ्रेन्डशिप कप लीग अन्तर्गत दुईवटा खेलहरु हुनेछ, जसमा विद्युत विभाग ए बनाम खरसाङ कोर्ट अनि दोस्रो खेलमा आकाशवाणी खरसाङ बनाम एसआई स्कूल कार्यालयमाझ हुनेछ। ज्ञात रहोस् अण्डर १४ बोयज अनि गर्ल्स ओपन खेलको फाइनल आगामी २ तारीख अक्टुबरको दिन हुनेछ भने अन्तर कार्यालय फ्रेन्डशिप लीग कम नक आउट फुटबल प्रतियोगिता को फाइनल ३ तारीख अक्टुबरमा हुनेछ। बुधबार भएको खेलहरूको सञ्चालन जिग्मी लेप्चा, मदन राई अनि अमित सार्की ले गरेका थिए । आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक फुर्बा घिसिङले विस्तृत जानकारी दिएका छन्।





