खरसाङ : गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’ को निधनमा सार्वजनिक शोक सभाको आयोजना गरिएको छ। उक्त सार्वजनिक शोक सभा गोर्खा जनपुस्तकालयका अध्यक्ष आईएन शर्माको अध्यक्षतामा र मूल सचिव गोमा सुब्बाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त शोक सभामा भाषा संग्रामी, नेपाली भाषा मान्यता आन्दोलनका एकजना सक्रिय नेतृत्व, समाजसेवी, साहित्यकार, आध्यात्मिक चिन्तक एवं वरिष्ठ व्यक्तित्व बुध्दिमान प्रधान ‘बमप’ को तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन साथै आत्मा शान्तिको लागि १०८ वटा बत्ती बालेर सार्वजनिक रुपमा श्रध्दाञ्जली अर्पण गरिएको छ। त्यसरी नै साई समिति खरसाङको तर्फबाट शान्ति प्रार्थना गरिएको थियो। उक्त सार्वजनिक शोक सभामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस क्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधित्व गर्दै गर्दै तिलक शर्मा, पूर्ण गुरुङ ‘निरुपम’, सुवास प्रधान, सुवास छेत्री, विनोद प्रकाश शर्मा, आशा मुखिया लामा आदिले भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’ को विभिन्न योगदान र उनको विषयमा वक्तव्य राख्दै श्रध्दाञ्जली अर्पण गरेका छन्।

उक्त सार्वजनिक श्रध्दाञ्जली सभामा सभाध्यक्ष आईएन शर्माले उपस्थित सबैलाई धन्यवाद दिँदै भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’माथि श्रध्दाञ्जली अर्पण गरेका छन्। उक्त सार्वजनिक शोक सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै गोर्खा जनपुस्तकालय खरसाङकी मूल सचिव गोमा सुब्बाले विस्तृत रुपमा जानकारी गराएकी छन्।





