खरसाङ : दशैंको मुखमा बन्द कमानमा श्रमिकहरुलाई ६ हजार गरेर फौलाईको रुपियाँ र बोनस पनि दिनु पर्ने दार्जिलिङ जिल्ला चिया कमान मजदुर युनियनको तर्फबाट माग गरिएको छ। दार्जिलिङ जिल्ला चिया कमान मजदुर युनियनको तर्फबाट रेजिना राईले एउटा भिडियो जारी गर्दै भनिन् ‘यसपालीको दशैंमा चियाबारीहरुमा सरकारको तर्फबाट बीस प्रतिशत बोनस दिने घोषणा गरेको छ जुन ठीकै हो र राम्रो कुरा पनि हो। तर दशैं खुल्ला चियाबारीहरुमा मात्र आउँदैन तर बन्द चियाबारीको श्रमिकहरुको घरमा पनि दशैं आउँछ। बन्द चियाबारीका श्रमिकहरुका लागि फौलाईको पैसा केवल १५ सय रुपियाँ मात्र प्रदान गरिने भएकोले धेरै असुविधा हुनजान्छ। त्यसैले बन्द चियाबारीहरु खोल्नुपर्छ। बन्द चियाबारीका श्रमिकहरुका लागि एकजनालाई ६ हजार गरेर फौलाईको पैसा दिनुपर्छ र बोनस पनि दिनुपर्छ।’ रेजिना राईले बन्द चियाबारीका श्रमिकहरुको अवस्था दयनीय रहेको र बन्द चियाबारी श्रमिकहरुको अवस्था बुझेर सरकारले सहयोग गर्नु पर्ने निवेदन गरेका छन्। उनले बन्द चियाबारी श्रमिकहरुको लागि ६ हजार गरेर फौलाईको रुपियाँ दिनु पर्ने र बोनस पनि दिनु पर्ने माग राखेकी छन्।





