कुरुक्षेत्र हत्याका आरोपीहरू नेपाल भाग्न खोज्दा बागडोग्राबाट पक्राउ

kurukshetra-1789994948392_m

​सिलगढी: हरियाणामा हत्या गरी नेपालतर्फ भागिरहेका तीनजना अभियुक्तलाई पुलिसले बागडोग्राबाट पक्राउ गरेको छ। सिलगढी मेट्राेपोलिटन पुलिसको ‘स्पेसलाइज्ड अपरेसन ग्रुप’ (एसओजी) र बागडोग्रा थाना पुलिसको संयुक्त टोलीले मुनी मोडस्थित राष्ट्रिय राजमार्ग ३१ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
​पक्राउ पर्नेहरूमा हरियाणा निवासी जसनदीप सिंह, करण कौशल र आशिष सिंह रहेका छन्।
​पुलिसका अनुसार गत सेप्टेम्बर १४ को राति हरियाणाको कुरुक्षेत्रमा गाडी पन्छाउने विषयलाई लिएर दुई समूहबीच विवाद भएको थियो। त्यसक्रममा उनीहरूले गुरप्रीत सिंह र उनका आफन्त गगनदीप सिंहमाथि लाठी तथा तरबारले साङ्घातिक आक्रमण गरेका थिए। गम्भीर घाइते भएका गुरप्रीतको उपचारका क्रममा गत शनिबार बिहान मृत्यु भएको थियो। घटना घटेकै दिन गुरप्रीतको जन्मदिन परेको जनाइएको छ।
​घटनापश्चात् मृतकका परिवार र स्थानीय बासिन्दाले शव सडकमै राखेर विरोध प्रदर्शन गर्दै पुलिसमा उजुरी दर्ता गराएका थिए। त्यसपछि तीनैजना अभियुक्तहरू फरार रहँदै आएका थिए।
​प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरू भुटान हुँदै सिलगढीको एक आश्रयस्थलमा बसेका र त्यहाँबाट बागडोग्राको बाटो भई नेपाल छिर्ने योजनामा रहेको खुलेको छ।
​पुलिसले अभियुक्तहरूलाई ट्रान्सिट रिमाण्डमा राखी थप कारबाहीका लागि हरियाणा पुलिसको जिम्मा लगाउने तयारी गरेको छ।

About Author

Advertisement