गान्ताेक: सिक्किमका राज्यपाल ओम् प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र स्वास्थ्य तथा परिवार कल्याण एवम् संस्कृति मन्त्री जि.टि. ढुङ्गेलको उपस्थितिमा आज सोकेथाङमा हेलेन लेप्चाको अर्धकदको सालिक (बस्ट) र ‘हेलेन लेप्चा सरकारी मेडिकल कलेज’ (एचएलजिएमसी) को आधिकारिक प्रतीक चिह्न (लोगो) अनावरण गरिएको छ।उक्त हेलेन लेप्चा सरकारी मेडिकल कलेजको भर्चुअल माध्यमबाट प्रधानमन्त्री नरेन्द्र मोदीले गत २८ अप्रिल २०२६ मा उद्घाटन गर्नुभएको थियो।

यो सिक्किम राज्यको पहिलो सरकारी मेडिकल कलेज हो। कलेज परिसरमा मुख्य प्राज्ञिक भवनसहित स्नातक, स्नातकोत्तर, इन्टर्न र नर्सिङ कर्मचारीहरूका लागि अलग-अलग छात्रावास तथा आवास गृहहरू निर्माण गरिएका छन्। यसबाहेक खेलकुदका लागि बास्केटबल, भलिबल, ब्याडमिन्टन कोर्ट र व्यायामशालाका साथै ढल प्रशोधन केन्द्र र विद्युत् सबस्टेसन जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध गराइएका छन्।नामची जिल्लाको असङथाङ, सोङबोङमा सन् १९०२ मा जन्मिएकी स्वतन्त्रता सेनानी हेलेन लेप्चा (१९०२-१९८०) ले भारतको स्वतन्त्रता सङ्ग्राममा महत्त्वपूर्ण योगदान दिएकी थिइन्। उनले असहयोग आन्दोलन र भारत छाडो आन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन्। स्वतन्त्रता सङ्ग्राममा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै भारत सरकारले सन् १९७२ मा उनलाई ‘ताम्रपत्र’ बाट सम्मानित गरेको थियो।कलेजको प्रतीक चिह्नले हिमालयन सम्पदा, चिकित्सा विज्ञान, शिक्षा र मानव सेवालाई प्रतिनिधित्व गर्दछ, जसको मूल आदर्श वाक्य “सिकौँ उपचार गर्न, गरौँ मानव सेवा” (लर्निङ टु हिल, सर्भिङ ह्युम्यानिटी) रहेको छ।अनावरण समारोहमा क्याबिनेट मन्त्रीहरू, सल्लाहकारहरू, विधायकहरू, ग्याङटोक नगर निगमका प्रमुख तथा उपप्रमुख, मुख्य सचिव, प्रहरी महानिर्देशक लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।





