बिर्तामोड: नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले चौलागाईंलाई आज (बिहीबार) साँझ रामेछापको मन्थलीबाट पक्राउ गरेको हो। कांग्रेस संस्थापन पक्षका चौलागाईं १५औँ महाधिवेशनको तयारी बैठकमा सहभागी हुन मन्थली पुगेका थिए। उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।
उच्च पदस्थ व्यक्तिहरूको नाममा रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ। चौलागाईंले रकम असुलीका लागि गरेको डिलसम्बन्धी अडियो सीआईबीले प्राप्त गरेको जनाइएको छ। केही प्रमाणसमेत प्राप्त भएको बताइएको छ। सोही विषयमा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो।





