काठमाडौं: वैज्ञानिकहरूले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको निष्कर्ष निकालेका छन्। विश्वभरका वैज्ञानिकसँगको परामर्शपछि वर्ल्ड वेदर अट्रैब्यूशन (डब्लुडब्लुए) ले सार्वजनिक गरेको अध्ययनले तापक्रम वृद्धि, हिमनदीमा आएको परिवर्तन र अन्य मौसमी अवस्थाले बाढीको जोखिम बढाएको देखाएको हो।
डब्लुडब्लुएले विश्वका विभिन्न स्थानमा हुने चरम मौसमी तथा जलवायुजन्य घटनामा जलवायु परिवर्तनको भूमिकाबारे वैज्ञानिक प्रमाण खोज्दै आएको छ।
वैज्ञानिकहरूका अनुसार भोटेकोशीमा बाढी आउनुअघि करिब २ लाख वर्गमिटर क्षेत्रफलको हिमनदी भत्किएको थियो। त्यसपछि करिब ११ करोड घनमिटर हिउँ र बरफसहितको ठूलो पहिरो खसेको उनीहरूले बताएका छन्। पहिरो खस्नुअघि उक्त क्षेत्रमा असामान्य रूपमा तापक्रम बढेको पनि अध्ययनले देखाएको छ।
यिनै परिस्थितिका आधारमा भोटेकोशी बाढीमा जलवायु परिवर्तनको महत्वपूर्ण योगदान रहेको निष्कर्ष निकाल्न सकिने वैज्ञानिकहरूको भनाइ छ। अनुसन्धानमा संलग्न फ्राइडरिक ओट्टोले हिमपहिरो, भारी वर्षा, उच्च तापक्रमलगायत दर्जनौं पक्षको अध्ययनपछि यस्तो निष्कर्षमा पुगेको बताएकी छन्।
यद्यपि, भोटेकोशीमा बाढी आउनुको कारण जलवायु परिवर्तन मात्रै नभएको अनुसन्धानमा संलग्न विज्ञहरूले बताएका छन्। वाल्टर इमर्शिज़ेल का अनुसार सन् २०१५ को भूकम्पको प्रभाव, पर्माफ्रस्टमा आएको ह्रास, हिमनदी पातलिँदै जानु तथा तापक्रममा आएको परिवर्तनलगायत विभिन्न कारणले बाढीको जोखिम बढाएको हुन सक्छ।
इमर्जलका अनुसार दुई वर्षभन्दा बढी समय जमेर रहने जमिनलाई पर्माफ्रस्ट भनिन्छ। नेपालमा यस्तो जमिन मुख्यतः समुद्री सतहबाट करिब ५,२०० मिटरभन्दा माथिका क्षेत्रमा पाइन्छ। तापक्रम बढ्दै जाँदा पर्माफ्रस्ट कमजोर हुने र त्यसले हिमाली क्षेत्रमा पहिरो तथा अन्य भू–प्राकृतिक जोखिम बढाउन सक्ने वैज्ञानिकहरूको बुझाइ छ।
यसरी भोटेकोशी बाढीलाई एउटै कारणको परिणामका रूपमा भन्दा जलवायु परिवर्तनसँगै भूकम्पको दीर्घकालीन प्रभाव, हिमनदीको क्षय, पर्माफ्रस्टमा आएको परिवर्तन र असामान्य तापक्रमलगायत धेरै कारकको संयुक्त परिणामका रूपमा हेर्नुपर्ने विज्ञहरूको निष्कर्ष छ।





