जिल्ला विपद् व्यवस्थापन प्राधिकरणद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा क्षति मूल्याङ्कन
गान्ताेक: निरन्तरको भारी वर्षाका कारण ग्याङटोक जिल्लाका विभिन्न भागहरूमा गएको पहिरो तथा सर्वसाधारणको धनजनमा पुगेको क्षतिको अवस्था बुझ्न ग्याङटोक जिल्ला विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले बिहीबारदेखि तीव्र रूपमा स्थलगत निरीक्षण र क्षति मूल्याङ्कन कार्य सुरु गरेको छ।
कवि लुङचोक क्षेत्रका विधायक टि.टि. भुटिया, विधायकका ओएसडी, काउन्सिलर, जिडी (डिडिएमए) ग्याङटोक, सडक एवं पुल विभाग (एनएच विङ) का डिभिजनल इन्जिनियर, राङ्काका ब्लक विकास अधिकारी (बिडिओ) तथा राजस्व सर्भेयरको संयुक्त टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको हो।
सिक्किम एक्सप्रेसका अनुसार पहिरो, सडक अवरोध, हिलो-लेदो बहाव तथा घरबारमा पुगेको क्षतिको स्थिति बुझ्न टोलीले ग्याङटोक वरपरका विभिन्न संवेदनशील क्षेत्रहरूको भ्रमण गरेको थियो। तत्काल जोखिम न्यूनीकरणका लागि पहिरोग्रस्त क्षेत्रहरूमा त्रिपाल (तारपोलिन) वितरण गरिएको छ ताकि वर्षाको पानीले पहिरो अझ बढाउन नपाओस्।
टोलीले लुइङ-राङ्का राजमार्ग (बोजोघारी नजिकै), तल्लो बोजोघारी, लिङडिङ, उच्च अदालत मार्ग, टिएनए गेट, भिआइपी कोलोनी, माथिल्लो जेड-बोजोघारी, पाङथाङ-लिङदोक सडक, पामरो गाउँ, लिङ पेर्बिङ, माथिल्लो र मध्य लुइङ, फेन्जोङ, राङ्का, राक्दोङ तिन्तेक, दारागाउँ माथिल्लो बर्तुक, सिचे, अरिथाङ लगायतका क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको छ।
यस पहिरोका कारण सार्वजनिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। सिचेस्थित ढल प्रशोधन केन्द्रमा क्षति पुगेको छ भने एन्चे स्कूल ३३/११ केभी स्विचिङ स्टेसन नजिकै थुप्रिएको पहिरोका कारण जोखिम बढेको छ।
ग्याङटोकका जिल्लापाल एवं डिडिएमएका अध्यक्षले सम्बन्धित निकायहरूलाई तत्काल सडक सफा गर्न, यातायात सञ्चालनमा ल्याउन र प्रभावितहरूलाई आवश्यक राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै, वर्षा जारी रहेकाले संवेदनशील क्षेत्रका बासिन्दाहरूलाई विशेष गरी रातिको समयमा सतर्क रहन र पहिरोग्रस्त क्षेत्रमा अनावश्यक आउजाउ नगर्न अपील गरिएको छ।





