फूलबारी: फूलबारी टोल गेटदेखि इनटेक वेलसम्मको जीर्ण बनेको फूलबारी-घोषपुकुर बाइपास सडकको पुननिर्माण कार्य बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ। पश्चिम बङ्गाल सरकारका पर्यटन तथा संसदीय मामिला मन्त्री डा. शङ्कर घोष र डाबग्राम-फूलबारीकी विधायिका शिखा चटर्जीले दीप प्रज्वलन तथा शिलान्यास फलक अनावरण गरी निर्माण कार्यको उद्घाटन गरे।
कार्यक्रममा एसजेडीएका सीईओ वीर बिक्रम राई, डीसीपी (ट्राफिक) काजी समसुद्दीन अहमद लगायत प्रशासनिक अधिकारी र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
प्राप्त जानकारी अनुसार फूलबारी टोल गेटदेखि इनटेक वेलसम्मको करिब १.४० किलोमिटर लामो सडकलाई १०.५० मिटर चौडा बनाएर नयाँ पिच सडक निर्माण गरिनेछ। यस आयोजनाको अनुमानित लागत करिब रू. ८ करोड रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. शङ्कर घोषले आगामी दुर्गा पूजा अगावै सडकलाई कम्तीमा गाडी गुडाउन योग्य (मोटरेबल) बनाउने लक्ष्य राखिएको बताए। उनले फूलबारी टोल गेटको टेन्डर प्रक्रिया अघि बढिरहेको र सो प्रक्रिया सकिएपछि बाँकी काम अघि बढाइने जानकारी पनि दिए। यो सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात व्यवस्थामा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।





