फूलबारी-घोषपुकुर बाइपास सडक पुननिर्माण कार्यको शिलान्यास, रू. ८ करोडको लागतमा बन्ने

FB_IMG_1789670855320

​फूलबारी: फूलबारी टोल गेटदेखि इनटेक वेलसम्मको जीर्ण बनेको फूलबारी-घोषपुकुर बाइपास सडकको पुननिर्माण कार्य बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ। पश्चिम बङ्गाल सरकारका पर्यटन तथा संसदीय मामिला मन्त्री डा. शङ्कर घोष र डाबग्राम-फूलबारीकी विधायिका शिखा चटर्जीले दीप प्रज्वलन तथा शिलान्यास फलक अनावरण गरी निर्माण कार्यको उद्घाटन गरे।
​कार्यक्रममा एसजेडीएका सीईओ वीर बिक्रम राई, डीसीपी (ट्राफिक) काजी समसुद्दीन अहमद लगायत प्रशासनिक अधिकारी र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
​प्राप्त जानकारी अनुसार फूलबारी टोल गेटदेखि इनटेक वेलसम्मको करिब १.४० किलोमिटर लामो सडकलाई १०.५० मिटर चौडा बनाएर नयाँ पिच सडक निर्माण गरिनेछ। यस आयोजनाको अनुमानित लागत करिब रू. ८ करोड रहेको छ।
​कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. शङ्कर घोषले आगामी दुर्गा पूजा अगावै सडकलाई कम्तीमा गाडी गुडाउन योग्य (मोटरेबल) बनाउने लक्ष्य राखिएको बताए। उनले फूलबारी टोल गेटको टेन्डर प्रक्रिया अघि बढिरहेको र सो प्रक्रिया सकिएपछि बाँकी काम अघि बढाइने जानकारी पनि दिए। यो सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात व्यवस्थामा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।

About Author

Advertisement