गान्तोक: ग्याल्शिङ जिल्ला, डेन्तामस्थित गिताङकी दीपा राईले कुमाउँ विश्वविद्यालय, नैनीतालबाट ‘जलवायु परिवर्तन र अलैँची खेती’ सम्बन्धी शोधग्रन्थको सफल प्रतिरक्षा गर्दै डाक्टरेट (पीएचडी) उपाधि हासिल गरेकी छन्।
स्वर्गीय राजेन्द्रकुमार राई तथा बसन्ती राईकी छोरी डा. राईको शोधग्रन्थको शीर्षक “द इम्प्याक्ट अफ क्लाइमेट चेन्ज अन लार्ज कार्डमम (अमोमम सुबुल्याटम रोक्सब.) कल्टिभेसन एन्ड प्रोडक्सन इन वेस्ट सिक्किम” रहेको छ। उनले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो), देहरादूनअन्तर्गत इन्डियन इन्स्टिच्युट अफ रिमोट सेन्सिङ (आईआईआरएस) का सह-प्राध्यापक डा. पी. सी. चन्यालको निर्देशनमा उक्त अनुसन्धान पूरा गरेकी हुन्।
डेन्ताम सिनियर सेकेन्डरी स्कूलबाट विद्यालय शिक्षा पूरा गरेकी डा. राईले सिक्किम गभर्नमेन्ट कलेज, तादोङबाट भूगोल विषयमा स्नातक (अनर्स) र कुमाउँ विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन्। उनले युजीसी-नेट र एनई-स्लेट परीक्षासमेत उत्तीर्ण गरिसकेकी छन्। हाल उनी सिक्किम विश्वविद्यालयको भूगोल विभागमा अतिथी प्राध्यापकका रूपमा कार्यरत छन्।
पीएचडी उपाधि हासिल गरेपश्चात् डा. राईले आफ्नो यो अनुसन्धान स्वर्गीय पिता राजेन्द्रकुमार राईप्रति समर्पित गर्दै आमा, परिवार, शोध निर्देशक डा. चन्याल र सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेकी छन्। उनको यो खोजले पश्चिम सिक्किममा जलवायु परिवर्तनका कारण अलैँची उत्पादनमा परेको प्रभावलाई विस्तृत रूपमा समेटेको छ।





