१०० प्रतिशत अक्रिडिटेसन हासिल गर्ने राज्यको पहिलो संस्था
नाम्ची: दक्षिण सिक्किमको बोरबोटे, चिसापानीस्थित सेन्टर फर कम्प्युटर्स एन्ड कम्युनिकेसन टेक्नोलोजी (सीसीसिटी) ले आफ्ना सबै ५ वटै विभागमा ‘नेसनल बोर्ड अफ अक्रिडिटेसन’ (एनबीए) बाट पूर्ण मान्यता (अक्रिडिटेसन) हासिल गरी प्राविधिक शिक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ।
हालै सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ डिप्लोमा कार्यक्रमहरूले एनबीएबाट मान्यता पाएका हुन्। गत १० जुलाई २०२६ मा आईआईटी धारवाड र दिल्ली विश्वविद्यालयका वरिष्ठ प्राध्यापकहरूको विशेषज्ञ टोलीले गरेको स्थलगत मूल्याङ्कनपछि यी दुई विभागलाई मान्यता प्रदान गरिएको हो। एनबीएले यी कार्यक्रमहरूलाई टायर-१ ढाँचा अन्तर्गत आगामी ३१ डिसेम्बर २०२९ सम्मका लागि अक्रिडिटेसन प्रदान गरेको छ।
विशेष गरी, सीसीसिटीको सिभिल इन्जिनियरिङ विभाग यो प्रतिष्ठित एनबीए मान्यता पाउने सिक्किम राज्यकै पहिलो सिभिल इन्जिनियरिङ विभाग बनेको छ।
यस नयाँ थपसँगै अब संस्थानका पाँचै वटा मुख्य विभागहरू—सिभिल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स एन्ड टेक्नोलोजी, मेकानिकल, र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पूर्ण रूपमा एनबीएबाट मान्यता प्राप्त भएका छन्। यस सफलताले सिक्किममा उच्च स्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने सीसीसिटीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।





