काबी तिङ्दा: सिक्किमको आधिकारिक परिचयात्मक भ्रमणमा आएको प्रेस सूचना ब्युरो (पीआईबी), शिमलाको १३ सदस्यीय सञ्चार प्रतिनिधिमण्डलले मंगलबार काबी तिङ्दा खण्ड प्रशासनिक केन्द्रको भ्रमण गरेको छ। काबी तिङ्दा पुगेपछि प्रतिनिधिमण्डललाई खण्ड विकास अधिकारी (बीडीओ) तथा स्थानीय अधिकारीहरूले न्यानो स्वागत गरेका थिए।
भ्रमणका क्रममा काबी तिङ्दाका डिभिजनल इन्जिनियर सोनाम पिन्चोले ‘जीवन्त गाउँ कार्यक्रम’ अन्तर्गत भइरहेका विकास कार्यहरूको कार्यान्वयन र सिक्किमको इतिहासबारे प्रस्तुति दिनुभयो। साथै खण्ड विकास अधिकारीले राज्य सरकारका प्रमुख जनकल्याणकारी नीति तथा ग्रामीण विकासका पहलबारे जानकारी गराउनुभयो। सांस्कृतिक आदानप्रदानस्वरूप पीआईबी शिमलाका सहायक निर्देशकले खण्ड विकास अधिकारीलाई परम्परागत हिमाचली टोपी र स्कार्फ प्रदान गर्नुभयो।

प्रशासनिक अन्तरक्रियापछि प्रतिनिधिमण्डलले ऐतिहासिक काबी लुङचोकको भ्रमण गरी लेप्चा र भोटिया समुदायबिच १३औँ शताब्दीमा सम्पन्न पवित्र रक्त भ्रातृत्व सन्धिसँग सम्बन्धित ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे प्रत्यक्ष जानकारी प्राप्त गर्यो।





