ढाका : बंगलादेशले भारतसँगको द्विपक्षीय सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन चाहेको जनाएको छ। बंगलादेशका विदेश मामिला राज्यमन्त्री हुमायुन कबिरले आपसी हित र समानताका आधारमा भारतसँग नयाँ सम्बन्ध विकास गर्नुपर्ने बताएका छन्। आइतबार राजधानी ढाकामा बोल्दै कबिरले शेख हसिनाको प्रधानमन्त्री कार्यकालमा भारत र बंगलादेशबीचको सम्बन्ध ‘असहज’ बनेको टिप्पणी गरे। उनले अब दुवै देशबीच प्रत्यक्ष संवादमार्फत सम्बन्धलाई नयाँ आधारमा अघि बढाउनुपर्नेमा जोड दिए। कबिरले भने, “हामी भारतसँगको द्विपक्षीय सम्बन्धलाई रिसेट गर्न चाहन्छौं।” उनका अनुसार बंगलादेशले भारतसँगको सम्बन्धमा अत्यधिक निर्भरता वा आकर्षणबाट बाहिर निस्केर सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्छ। उनले व्यंग्यात्मक शैलीमा भने, “बिहानको खाजा भारतमा, दिउँसोको खाना भारतमा र रातिको खाना पनि भारतमै भयो भने आफ्नो खाना कहिले खाने?” उनको यो टिप्पणी भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमान सहभागी नभएको दुई दिनपछि आएको हो। बंगलादेशले प्रधानमन्त्री रहमानलाई ब्रिक्स शिखर सम्मेलनका लागि प्रत्यक्ष निमन्त्रणा नदिइएको दाबी गरेको थियो। उसका अनुसार सम्मेलनमा बिम्स्टेकका अध्यक्षलाई निमन्त्रणा गरिएको थियो। भारतले भने बिम्स्टेकको अध्यक्षका रूपमा प्रधानमन्त्री रहमानलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेको जनाएको थियो। कबिरले बंगलादेशले भारतसँगको सम्बन्धलाई बहुपक्षीय मञ्चभन्दा पनि प्रत्यक्ष द्विपक्षीय संवादका माध्यमबाट अघि बढाउन चाहेको स्पष्ट पारे। उनका अनुसार दुई देशबीच आपसी सम्मान, समान हित र सन्तुलनका आधारमा सम्बन्ध पुनःनिर्माण गर्न आवश्यक छ।





