रियाद : नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मञ्चबाट नेपालको पक्षमा आवाज उठाएको छ। युरोपेली च्याम्पियन्स लिगअन्तर्गत १० सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेनरबाचेविरुद्ध भएको खेलमा एएस रोमाका खेलाडीहरू ‘नेपालका लागि एकसाथ’ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदानमा उत्रिएका थिए। उक्त जर्सीमा संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को चिन्हसमेत राखिएको थियो। नेपालमा आएको विपद्का कारण प्रभावित नागरिकको अवस्था अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने उद्देश्यले एएस रोमा र विश्व खाद्य कार्यक्रमको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो। खेलाडीहरूले प्रयोग गरेका विशेष जर्सी लिलामी गरिने र त्यसबाट प्राप्त रकम नेपालका विपद् प्रभावित समुदायको राहत तथा सहयोगमा प्रयोग गरिने जनाइएको छ। च्याम्पियन्स लिगका त्यस साताका खेलअघि नेपालका बाढी तथा पहिरोपीडितको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो। खेल मैदानमा ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्ने सन्देशसहितका ब्यानर प्रदर्शन गरिएका थिए। विश्वभर करोडौँ फुटबलप्रेमीको ध्यान खिच्ने च्याम्पियन्स लिगको प्रतिष्ठित मञ्चमा नेपालको विपद्को विषय उठाइनुले प्राकृतिक विपत्तिबाट पीडित नेपाली नागरिकको पीडालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ। एएस रोमाको यो पहलले फुटबल केवल प्रतिस्पर्धा र मनोरञ्जनको माध्यम मात्र नभई मानवता, सहानुभूति र विश्वव्यापी ऐक्यबद्धताको सशक्त माध्यम पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ। विपद्को कठिन घडीमा नेपालको पक्षमा उभिँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाली नागरिकको पीडालाई उजागर गरेकोमा एएस रोमा, उसका खेलाडी तथा विश्व खाद्य कार्यक्रमप्रति नेपाली समुदायले सम्मान र आभार व्यक्त गरेको छ।





