गान्तोक: हिन्दी दिवसका अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राज्यवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
आइतबार लोकभवनद्वारा जारी सन्देशमा राज्यपाल माथुरले हिन्दी भाषा केवल संवादको माध्यम मात्र नभई समृद्ध सांस्कृतिक चेतना, भावनात्मक अभिव्यक्ति र राष्ट्रको गौरवशाली पहिचानको आधार भएको उल्लेख गरेका छन्। उनले हिन्दीले विविधतामा एकतालाई सुदृढ बनाउँदै समग्र भारतलाई अखण्डताको एउटै सूत्रमा जोड्ने काम गरेको बताएका छन्।
”सिक्किमजस्तो बहुभाषी र बहुसांस्कृतिक राज्यमा हिन्दी भाषा संवादको पुल र सामाजिक सौहार्दको संवाहकका रूपमा रहेको छ,” राज्यपाल माथुरले सन्देशमा भनेका छन्, “कुनै पनि भाषाको सम्मान गर्नु भनेको वास्तवमा संस्कृति र सभ्यताको सम्मान गर्नु हो।” भाषा शब्दहरूको समूह मात्र नभएर पुस्तौँदेखिको परम्परा, जीवनमूल्य र ज्ञानको धरोहर भएको उनको भनाइ छ।
आफ्नो स्थानीय मातृभाषाको सम्मान गर्दै हिन्दी भाषालाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउन र राज्यको प्रगति तथा राष्ट्रको गौरवलाई नयाँ उचाइमा पुर्याउन सबैमा उनले आह्वानसमेत गरेका छन्।





