गेजिङमा ३५औँ नेपाली भाषा मान्यता दिवस र मोतीजयन्ती मनाइयो

FB_IMG_1789154239937

गेजिङ: ​गेजिङ जिल्लास्थित आरीगाउँको सञ्चमान लिम्बू सरकारी महाविद्यालयको नेपाली विभागले ३५औँ नेपाली भाषा मान्यता दिवस तथा मोतीराम भट्ट जयन्ती मनाएको छ।
​कार्यक्रममा कलेजका प्राचार्य प्रा. भक्त कुवर मुख्य अतिथि थिए भने उप-प्राचार्य वीर्खमान लिम्बू, सङ्काय प्रतिनिधि (डीन) कर्मा छोडेन भोटिया, विभिन्न भाषा विभागका प्रमुख तथा सह-प्राध्यापकहरूको विशिष्ट आतिथ्य थियो। पूर्व सिक्किमको सामदोङस्थित सिक्किम सरकारी संस्कृत महाविद्यालयका सह-प्राध्यापक डा. लक्ष्मी प्रसाद शर्मा स्रोत व्यक्तिका रूपमा सहभागी थिए।
​नेपाली विभागका प्रमुख डा. डिल्लीराम शर्माले स्वागत मन्तव्य प्रस्तुत गर्दै नेपाली भाषा आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएका थिए। स्रोत व्यक्ति डा. शर्माले मोतीराम भट्टको योगदानबारे प्रकाश पार्दै उनी अल्पायुमै कवि, जीवनीकार, समालोचक, नाटककार, गजलकार र प्रकाशकका रूपमा स्थापित व्यक्तित्व भएको बताए। भट्टले नै आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यमा उजागर गरेको उल्लेख गर्दै वर्तमान पुस्ताले उनीबाट प्रेरणा लिनुपर्नेमा उनले जोड दिए।
​मुख्य अतिथि प्रा. कुवरले भाषा आन्दोलनका क्रममा आफू सहभागी भएका क्षणहरूको स्मरण गर्दै विभागलाई आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। उप-प्राचार्य लिम्बूले नेपाली भाषा सम्पर्क भाषाका रूपमा रहेकाले यसको संरक्षणले मात्र जाति र समाजको उन्नति हुने धारणा राखे।

कार्यक्रममा भोटिया, लेप्चा, लिम्बू, अङ्ग्रेजी र नेपाली विभागका विद्यार्थीहरूले आ-आफ्नो भाषामा कविता वाचन गरेका थिए। नेपाली विभागका सह-प्राध्यापक सन्दिप तामाङले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी यादव शर्माले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement