नयाँ दिल्ली: फोनको सुरक्षा कभर बनाउने कम्पनी राइनोशील्डले स्मार्टफोनलाई करिब एक लाख फिट अर्थात् ३०.६ किलोमिटर उचाइबाट खसाएर सफल परीक्षण गरेको छ। कम्पनीले आफ्नै प्रविधिबाट तयार गरेको कभर प्रयोग गरिएको फोन सुरक्षित रूपमा जमिनमा अवतरण गरेपछि यसले गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरेको हो।
स्वीडेनको किरुना नजिकै गत जुन २४ मा फोनलाई ३० हजार ६०७ मिटर (१ लाख ४१८ फिट) उचाइबाट खसाइएको थियो। यो उचाइ पृथ्वीको वायुमण्डलको समतापमण्डल (स्ट्राटोस्फियर) भित्र पर्छ।
यस परीक्षणमा राइनोशील्डसँगै बेलायतको एयरोस्पेस कम्पनी सेन्ट इनटु स्पेस पनि सहभागी थियो। गिनिजको उपाधि कभरसहित फोनलाई सबैभन्दा बढी उचाइबाट खसाएर सुरक्षित राखिएको परीक्षणका आधारमा प्रदान गरिएको हो।
फोन मानिसमाथि नखसोस् भनेर जंगल क्षेत्रमा ड्रप गरिएको थियो। त्यसपछि फोन खोज्न केही समय लागेको थियो। कम्पनीका अनुसार कभर एकल सामग्रीबाट बनाइएको छ, जसले ठूलो झट्का सहनुका साथै पुनःप्रयोग तथा रिसाइकल गर्न पनि सहज बनाउँछ।





