सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा अन्तर श्रेणी लात्ते भकुण्डो प्रतियोगिता सम्पन्न

1cf13b72-1f82-49f2-9ec7-4364566aec83

सोनादा (४ सेप्टेम्बर): सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित अन्तर श्रेणी लात्ते भकुण्डो प्रतियोगिताको फाइनल खेल शुक्रबार भलुटार खेल मैदानमा सम्पन्न भयो।विद्यालयकी प्राचार्याध्यापिका बिन्द्या प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जागृति क्याब युवा ड्राइभर एसोसिएसनका सभापति दिपेन गुरुङ, भलुटार स्पोर्ट्स एन्ड कल्चर एकेडेमीका सभापति रतन तामाङ, पत्रकार किरण छेत्री, वरिष्ठ व्यवसायी सुमेश तामाङ लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रतियोगितालाई तीन वर्गमा विभाजन गरिएको थियो, जस अन्तर्गत कनिष्ठ वर्ग ‘क’, कनिष्ठ वर्ग ‘ख र कनिष्ठ वर्ग ‘ग का फाइनल खेलहरू आज सम्पन्न भए। प्रतियोगितामा विद्यालयका पाँचौँ, छैटौँ, सातौँ र आठौँ श्रेणीका बालकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूद्वारा लोक नृत्य पनि प्रस्तुत गरिएको थियो।प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न शिक्षक बुद्ध राई र प्रभाकर गुरुङले मुख्य रूपमा संयोजन गरेका थिए। उनीहरूको संयोजनमा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूले खेल सञ्चालन, विद्यार्थी व्यवस्थापन तथा अन्य आवश्यक पक्षमा सक्रिय रूपमा भूमिका निर्वाह गरेका थिए। विद्यालय परिवारको सामूहिक प्रयास र सहयोगका कारण प्रतियोगिता व्यवस्थित तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी तथा उपविजेता बनेका दुवै टोलीलाई मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयका अभिभावक, शिक्षक शिक्षिका तथा दर्शकहरूको उल्लेख्य उपस्थितिबीच सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको उत्साह र प्रतिस्पर्धात्मक भावना अझ बढाएको देखिन्थ्यो।प्रतियोगिता भव्य रूपमा सम्पन्न भएकोमा विद्यालयकी प्राचार्याध्यापिका तथा विद्यालय परिवारले प्रतियोगितासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्ने सम्पूर्ण व्यक्ति, अभिभावक, शिक्षक शिक्षिका तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
यस अवसरमा सह‌ शिक्षक नरेश छेत्रीले एक प्रेस विज्ञप्तिमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकास केवल कक्षाकोठाको पढाइबाट मात्र सम्भव नहुने बताए। विद्यार्थीभित्र रहेका कला, कौशल, संगीत, भाषा, साहित्य तथा खेलकुदजस्ता विविध प्रतिभालाई उजागर गर्ने उद्देश्यले विद्यालयले सुरुदेखि नै विभिन्न अतिरिक्त क्रियाकलाप तथा कार्यक्रमहरू आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
लात्ते भकुण्डो प्रतियोगितापछि आगामी केही महिनाभित्र विद्यालयमा अन्य खेलकुद तथा अतिरिक्त क्रियाकलापसम्बन्धी कार्यक्रमहरू समेत आयोजना गरिने विद्यालयले जनाएको छ।

About Author

Advertisement