खरसाङ (४ सेप्टेम्बर): वाणीश्री कल्याण समिति खरसाङको आयोजनामा सरकारी सिन्कोना बगान सिटोङ डिभिजनको सह आयोजनामा सिटोङ तीन क्षेत्रमा वृक्ष रोपणको कार्य सम्पन्न गरिएको छ। उक्त कार्यक्रम अन्तर्गत वृक्ष रोपणको कार्य अघि सिटोङ तीनमा एक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा वाणीश्री कल्याण समितिका पदाधिकारीहरु र सदस्य सदस्याहरुलाई सरकारी सिन्कोना बगान सिटोङ डिभिजनको तर्फबाट स्वागत जनाइएको थियो। यस क्रममा सिटोङको तर्फबाट अफिस ईञ्चार्ज सेवन सुब्बाले स्वागत जनाएका थिए भने वाणीश्री कल्याण समितिको तर्फबाट सह सचिव हनोक थापाले सञ्चालन गर्दै यस वृक्ष रोपण कार्यक्रमको अतिथिहरु क्रमैले सेभोक रेञ्जकी रेञ्जर अफिसर ज्योत्सना सुब्बा, बिट अफिसर बिनोद तामाङ, सरकारी सिन्कोना बगानका अफिस इन्चार्ज सेवन सुब्बा, दल नायक रिता दर्जी लगायत अन्यहरुलाई बाणीश्री कल्याण समितिको तर्फबाट स्वागत जनाइएको छ। यस अवसरमा वाणीश्री कल्याण समितिको विषयमा सचिव सिल्भेष्टर लेप्चाले वक्तव्य राखेका थिए। त्यसरी नै वृक्ष रोपणको महत्व र यसको संरक्षण गर्नुपर्नेमा विषयमा सेभोक रेञ्जकी रेञ्जर अफिसर ज्योत्सना सुब्बाले वक्तव्य राखेकी थिइन्। यसै कार्यक्रममा वाणीश्री कल्याण समितिको तर्फबाट सरकारी सिन्कोना बगान सिटोङ डिभिजनको पदाधिकारीहरु र सेभोक रेञ्जका पदाधिकारीहरुलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यसको साथै वृक्ष रोपणको कार्य अघि नेपालको बाढीमा परेर ज्यान गुमाउनेहरुप्रति श्रध्दाञ्जली अर्पण गर्दै मौन प्रार्थना गरिएको छ। यस अवसरमा इसारा तामाङको पूजा अर्चना गरेर वृक्ष रोपणको कार्यक्रम शुरु गरिएको थियो। यस अवसरमा वाणीश्री कल्याण समिति, सरकारी सिन्कोना बगान सिटोङ डिभिजनको पदाधिकारीहरु र कर्मचारीहरु र सेभोक रेञ्जका पदाधिकारीहरु र कर्मचारीहरुको बाहुलीबाट वृक्ष रोपणको कार्य सम्पन्न गरिएको छ। यस अवसरमा सिटोङ कुलैनबारी क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ। यस क्रममा खरसाङ रेञ्ज, बागौरा रेञ्ज र सेभोक रेञ्जबाट प्राप्त विभिन्न प्रजातिका बिरुवाहरु रोप्ने कार्य सम्पन्न गरिएको छ। यस क्रममा काँफल, पिपली, क्यामुना, चाँप, पैयुँ, उत्तिस, लाप्चे काउलो, आरुपाते, तारसिङ आदि रूखका बिरुवाहरु रोप्ने कार्य सम्पन्न गरिएको छ। १९९२ सालमा नै स्थापना भएको वाणीश्री कल्याण समितिले नयाँ कार्यकारी समिति गठन भएपछि पुनः नयाँ तरिकाले विभिन्न सिर्जनात्मक सामाजिक कार्यहरु गर्दै जाने निर्णय लिएको छ। यसै क्रममा यसपाली सिटोङमा वृक्ष रोपणको कार्य सम्पन्न गरिएको र आगामी दिनमा विभिन्न सामाजिक कार्यहरु पनि आयोजना गर्ने भएको छ। यस वृक्ष रोपण कार्यक्रमको लागि वृक्ष रोपणको कार्यको लागि सहयोग गर्नेहरू डीएफओ आईएफएस देवेश पाण्डे, खरसाङका रेञ्जर अफिसर मनोजकुमार छेत्री, बिट अफिसर सञ्जीव प्रधान, बागौरा रेञ्जका रेञ्जर अफिसर सुनिल राई, सेभोक रेञ्जकी रेञ्जर अफिसर ज्योत्सना सुब्बा, बिट अफिसर बिनोद तामाङ, सरकार सिन्कोना बगान सिटोङ डिभिजनका सहायक प्रबन्धक डा तिथि दत्त, अफिस इन्चार्ज सेवन सुब्बा, दलनायक रिता दर्जी लगायत कार्यालय सहायक देवेन्द्र खड्का लगाय सम्पूर्ण कर्मचारीहरूलाई वाणीश्री कल्याण समितिको तर्फबाट धन्यवाद प्रकट गरिएको छ।
यस वृक्ष रोपण कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै वाणीश्री कल्याण समितिका सचिव सिल्भेष्टर लेप्चा र सरकारी सिन्कोना बगान सिटोङ डिभिजनको तर्फबाट देवेन्द्र खड्काले विस्तृत रुपमा जानकारी गराएका छन्।





