नयाँ दिल्ली: बेल्जियमका प्रधानमन्त्री बार्ट अल्बर्ट लिलियन डी वेवर भारतको तीनदिने भ्रमणमा छन्। सन् १९७० डिसेम्बर २१ मा जन्मिएका डी वेवरलाई बेल्जियममा ‘बीडब्ल्यूडी’ भनेर पनि चिनिन्छ। भारत भ्रमणका क्रममा उनले बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
भेटमा भारत–बेल्जियम द्विपक्षीय सम्बन्धका विभिन्न पक्षसँगै पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी विषयमा छलफल हुने बताइएको छ। भारत र बेल्जियमबीच व्यापार, प्रविधि, सुरक्षा तथा रणनीतिक सहकार्यलाई थप मजबुत बनाउने विषय पनि वार्ताको प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।
डी वेवर सन् २०२५ फेब्रुअरीदेखि बेल्जियमका प्रधानमन्त्री छन्। उनी सन् २००४ देखि २०२५ सम्म ‘न्यु फ्लेमिस एलायन्स’ (एन–भीए) का अध्यक्ष थिए। फ्लेमिस स्वतन्त्रताको पक्षमा रहेको एन–भीएले २०१० को संघीय निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो।
सन् २०२४ को निर्वाचनपछि बेल्जियमका राजा फिलिपले डी वेवरलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका थिए। यसअघि उनी लामो समय एन्तवर्पका मेयरसमेत रहेका थिए। बेल्जियमको राजधानी ब्रसेल्समा युरोपेली संघ र नेटोका मुख्यालय छन्।





