काठमाडौँ: रसुवाको भोटेकोशी क्षेत्रमा आएको बिनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १,२९० जनाको शव फेला परेको छ भने ४,७९८ जना अझै वेपत्ता रहेका छन्।
उद्धार कार्यका लागि नेपाल प्रहरीका ७,९१२ जना सुरक्षाकर्मी खटिएका छन्। बाढीका कारण ६५ जना प्रहरी नै प्रभावित भएका छन् भने २५ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
फेला परेका शव तथा पहिचानको अवस्था
फेला परेका कुल १,२९० शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन्। साथै ५३२ जनाको आंशिक अङ्ग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। फेला परेकामध्ये ९२६ जनाको शव व्यवस्थापन (जमिनमा गाड्ने काम) गरिसकिएको छ।
पहिचान खुल्न नसकेका १०६९ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। साथै, पहिचानका लागि १,१४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल १,८६२ जनाको डीएनए संकलन गरिएको छ।
बेपत्ता र उद्धारको स्थिति
बेपत्ता रहेका कुल ४,७९८ जनामध्ये स्वदेशी २,८४७ (२,३६९ पुरुष, ४७८ महिला र १,३५० फोनमार्फत जानकारी प्राप्त) र ६०१ जना विदेशी नागरिक रहेका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म कुल ८,१८७ जनाको उद्धार तथा उपचार गरिएको छ। जसमा स्वदेशी ७,०९० (४,६१८ पुरुष, २,४७२ महिला) र विदेशी १,१०७ (९०३ पुरुष, १५२ महिला, ५२ नखुलेको) रहेका छन्। हाल ३,६३१ जनालाई सुरक्षित होल्डिङ सेन्टरमा राखिएको छ।
प्रहरीले प्रभावित क्षेत्रमा १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४१,७२६ जनालाई सहभागी गराएको छ। क्षेत्रमा खोजी, उद्धार तथा राहतको कार्य अझै निरन्तर जारी छ।





