खरसाङ नगरपालिका क्षेत्रका विभिन्न समस्याहरुलाई लिएर भागोप्रमोद्वारा नगरपालिका प्रशासनलाई ज्ञापन

a8b5e81d-1c08-4884-9730-0adbfe143047

खरसाङ (२सेप्टेम्बर): भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा टाउन कमिटीकोे तर्फबाट खरसाङ नगरपालिका क्षेत्रका विभिन्न समस्याहरु लिएर नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्। खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनकोे अगुवाईमा टाउन कमिटीका उपाध्यक्षद्वय रंजन गजमेर र संतोष परी, मूल सचिव राजु सेवा, सह सचिव विकास तामाङ, सल्लाहकार किशोर लिम्बु कार्यकारिणी सदस्यहरू रतन शेर्पा, कमल श्रीवाल, आनन्द गुरूङ, पासाङ यल्मो, सुभाष राई आदिको टोली खरसाङ नगरपालिका कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा नगरपालिका क्षेत्रका विभिन्न वार्डमा स्ट्रिट लाईट धेरै समयदेखि नबलेको कारण जनमानसलाई रातु हिँड्न लगायत पहाडी क्षेत्र भएकोले चितुवा अनि जंगली जनावरकाे आक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर यथाशीघ्र सबै वार्डमा बत्ती जडान गरिदिने निवेदन गरिएको छ। यसको साथै दैनिक विभिन्न वार्डबाट एकत्रित गरिएकाे फोहोर मैला डम्पिङ क्षेत्र लानु अघि जमा गरिने ठाँउ व्यवस्थित नभएको कारण भुष्या कुकुर, बाँदरहरूले खाने कुरोकोे खोजीमा छरपष्ट गर्दा दुर्गन्धले जनसाधारणलाई बाटो हिड्न असुविधा भईरहेको जानकारी गराउँदै एकत्रित गरेर राख्ने जगा व्यवस्थित गरिदिने निवेदन गरिएको छ। त्यसरी नै सरकारद्वारा हाउस फर अल योजनाकोे लाभार्थीहरुले पाउनु पर्ने बकाया राशि समयमा दिलाउने व्यवस्था गरिदिने साथै पैसा थापेर पनि घर नबनाउने लाभार्थीहरूलाई उचित कार्यवाही गरिदिने आग्रह गरिएको छ। यसको साथै नगरपालिकाका अन्तर्गत पर्ने फुटपाथ साफ सफाई गर्न हेतु सफाईवाला आउने गर्थे तर वर्तमान समयमा नआएकोले स्कूले नानी लगायत आम जनतालाई हिँड्न धेरै असुविधा भईरहेको छ र बाटोहरुको साफ सफाई गर्नकोे निम्ति सफाई कर्मचारी पठाई दिने आग्रह पनि नगरपालिका समक्ष गरिएको छ। विगत बर्खा याममा नगरपालिकाकाे तर्फबाट नगरपालिका अन्तर्गत पर्ने बीसवटै वार्डमा ब्लीचिङ पाउडर छर्ने गरिन्थ्यो। तर अहिले छरिएको छैन र वर्षायाममा समय समयमा छरिदिने साथै कतिपय जनसाधारणकोे मूलभूत समस्याकोे समाधान हेतु लिखित ज्ञापन टाउन कमिटी अध्यक्ष बीरबल पाख्रिनले पठन गरेपछि नगरपालिका प्रशासक थेन्डुप भूटियालाई सुम्पेका छन्। नगरपालिकाका प्रशासक थेण्डुप भूटियाले खरसाङ टाउन कमिटीद्वारा जनहितलाई सहयोग पुर्याउनु हेतु प्रेसित गरिएकाे ज्ञापन पत्र सुनेपछि सम्बन्धित विभागका अधिकारी गोबिन्द अधिकारी, रमेश सुब्बा, सुरेन कटुवाल, सजय थापा र योगेशलाई बोलाएर प्रत्येक समस्या विषय लिएर जानकारी राखिदिने आग्रह गरे। जसमा नगरपालिकाका सम्बन्धित विभागीय अधिकारीहरुले भईरहेको समस्याकाे विस्तृत जानकारीसंगै यथाशीघ्र समाधान हुने आश्वासन दिएको जानकारी प्राप्त भएको छ। भागोप्रमो टाउन कमिटीका प्रतिनिधिका सदस्यगण नगरपालिकाका वार्डकै भएका हुनाले उनीहरूले पनि आ आफ्ना वार्डका समस्याहरू दर्शाउँदै सहयोग गरिदिन आग्रह गरेका छन् जसमा उपस्थित विभागीय अधिकारीहरुले नोट गरेर सबैकाे आग्रहलाई आश्वासन दिएका छन्। अन्तमा नगरपालिका प्रशासक ठेन्डुप भूटियाले पश्चिम बंगाल सरकारद्वारा १ सेम्टेम्बर २०२६ देखि बंगालमा थुक फ्याँके, पोलिथिन प्रयोग गरे, फोर मैला जताभावी फ्याँकेको भेटाए जरिमाना लाग्ने जानकारी दिन्दै खरसाङका जनसाधारणले आफ्नाे शहर आफैं सफा राख्दै सहयोग गरिदिने पनि आग्रह गरेका छन्‌।

About Author

Advertisement