न्यूयोर्क: सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम अमेरिकी ओपनको पहिलो दिन नै महिला एकलमा ठूलो उलटफेर देख्न पाइयो। दुईपल्टकी ग्राण्ड स्ल्याम विजेता तथा २७औं वरीयता प्राप्त चेक गणराज्यकी बारबोरा क्रेजसिकोवाले उज्बेकिस्तानकी कामिला रखीमोवाविरुद्ध सीधा सेटमा हारको सामना गर्नु पऱ्यो। यसबीच तेस्रो वरीयता प्राप्त अमेरिकी खेलाड़ी जेसिका पेगुला र १९औं वरीयता प्राप्त जेस्मिन पाओलिनी चाहिँ आ-आफ्नो म्याच जित्न सफल भइन्। आर्थर ऐश स्टेडियममा खेलिएको म्याचमा रखीमोवाले क्रेजसिकोवालाई ७-६ (४), ६-२-ले पराजित गरिन्। क्रेजसिकोवाले पहिलो सेटमा ६ म्याच पोइण्ट बचाइन् तर पनि उनले हारको सामना गर्नु पऱ्यो। यसअघि कुनै पनि मेजर टुर्नामेण्टमा तेस्रो राउण्डभन्दा अघि बढ़न नसक्ने रखीमोवाले धैर्यको साथ खेल्दै म्याच जितिन्। यसरी दिनको शुरुवाती म्याचमा तेस्रो वरीयता प्राप्त पेगुलाले रोमानियाकी एलेना-गेब्रिएला रुजलाई सजिलै ६-३, ६-२-ले पराजित गरिन्। सिनसिनाटी ओपनको फाइनलमा कोको गौफविरुद्ध पराजित भएर यहाँ पुग्ने पेगुलाले ८३ मिनटमा म्याच जितिन्। उनले म्याचमा पहिलो सर्विसमा ९२ प्रतिशत अंक जितिन्।
म्याचपछि पेगुलाले भनिन्, म सामान्य नर्वस थिएँ। अन्तमा म्याच जितेर खुशी छु। कुनै पनि टुर्नामेण्टमा पहिलो राउण्डको म्याच खेल्दा सदा चिन्ता हुन्छ। दोस्रो राउण्डमा पेगुलाको भिड़न्त आफ्नै देशकी सोफिया केनिनसँग हुनेछ, जसले अमेरिकाकै दिग्गज खेलाड़ी भीनस विलियम्सलाई ६-२, ७-६ (६)-ले पराजित गरिन्। यसबीच १९औं वरीयता प्राप्त जेस्मिन पाओलिनीले चाहिँ स्लोवेनियाकी वेरोनिका एर्जावेकविरुद्ध कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। तीन सेटसम्म चलेको म्याचमा पाओलिनीले ६-३, ३-६, ६-४-ले जीत दर्ता गरिन्। उनी विम्बल्डन २०२४ र फ्रेञ्च ओपनकी उपविजेता रहिसकेकी छन्। पुरुष एकलमा २०१४-का च्याम्पियन मारिन सिलिच र २०२२-का उपविजेता कास्पर रुडले चोटले गर्दा टुर्नामेण्टबाट नाम फिर्ता लिएका छन्।





