सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न

129d6223-c868-4a42-9313-5deff5294b18

भाषा साहित्य र विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु सम्मानित

खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङ, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग जीटीए खरसाङको संयुक्त आयोजनामा सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न गरिएको छ‌। उक्त कार्यक्रम खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता समारोह आयोजक समितिको सभापति प्रकाश प्रधानको अध्यक्षतामा र खरसाङका विधायक सोनाम लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। गोर्खा जनपुस्तकालय खरसाङकी मूल सचिव गोमा सुब्बाद्वारा सञ्चालित यस कार्यक्रममा प्रज्ञा साझा मञ्च एंव समारोह समितिकी सचिव उषाकिरण सत्यदर्शीले स्वागत सम्भाषण राखेकी थिइन्। अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्वलन गरेर थालिएको कार्यक्रममा छिमेकी देश नेपालमा आएको प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरुको निम्ति मौन धारण गरिएको थियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको खरसाङका कलाकारहरुले भाषा गीत प्रस्तुत गरेका थिए‌ भने कार्यक्रममा नौमति बाजाको प्रस्तुति रहेको थियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन छेत्रीले वक्तव्य राखेका थिए। कार्यक्रममा अतिथिहरुका बाहुलीबाट भाषा गीत लोकार्पण गरिएको थियो। कार्यक्रममा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट भाषा संग्रामीहरु, शैक्षिक पुरस्कार, विभिन्न पुरस्कार र उपलब्धिहरु प्राप्त गर्ने सदस्यहरुलाई सम्मान जनाइएको छ। यस क्रममा राजु प्रधान ‘हिमांशु’, डा योगेस खाती, डा वासुदेव पुलामी, निरङ्कर थापा र डा साङ्मु लेप्चालाई सम्मान जनाइएको छ। त्यसरी नै कार्यक्रममा प्रज्ञा साझा मञ्चको तर्फबाट विशिष्ट व्यक्तित्वहरूलाई सम्मान जनाइएको छ। यस क्रममा भाषा संग्रामी बसन्तराज दियाली, मरणोपरान्तमा डा लक्खीदेवी सुन्दास र चन्द्र शर्मा, कालेबुङका देवाशिष मिथे र घुम्ती चियाबारी निवासी सूर्यनारायण प्रधानलाई सम्मान जनाइएको छ।

कार्यक्रममा सिल्भेष्टर लेप्चाले नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा नेपाली भाषा मान्यता विषयमा डा जीवन नामदुङले आफ्नो सम्बोधनमा भाषा आन्दोलनको एलिसेन्टर देहरादुन भनेर सबैले मान्छन् तर वास्तवमा दार्जिलिङ हो भनी बताएका छन्। उनले भने, ‘हामीले आनन्दसिंह थापालाई मात्र सम्झेर हुँदैन। तर आफ्नै ठाउँको इतिहास बुझ्नुपर्छ। २० अगस्त १९५० सालमा नै फमबहादुर छेत्रीले पत्रचार गरेका थिए। यस कार्यलाई कथाकार परशुराम रोकाले सराहना गरेका थिए‌। डा जीवन नामदुङले भाषा मान्यता आन्दोलनको चारजनालाई यहाँ सम्झन चाहान्छु भनी बताए। उनले आनन्दसिंह थापाभन्दा अघि सानुमति राई र महानन्द पौड्यालले नेपाली भाषा विषयमा पत्रचार गरेका थिए भनी बताए। उनले १९७४ सालमा सरकारको अनुमतिबिना नै वीरबहादुर ठकुरीले राजनीति शास्त्रमा नेपाली भाषामा परीक्षा दिएका जो अहिले पनि जीवित छन् र उनलाई बोलाएर सम्मान गरिनु पर्ने हो भनी बताएका छन्‌। उनले नेपाली भाषाको लागि चारजना महिलाहरु क्रमैले विष्णु गुरुङ, चन्द्रमीत लक्सम, पुष्प नेपाली र सावित्रीले पैदल यात्रा गरेको पनि जानकारी गराएका छन्।

कार्यक्रममा नेपाली भाषा मान्यता विषयमा पूर्ण गुरुङ ‘निरुपम’ ले पनि वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले आफ्नो सम्बोधनमा उपस्थित विशिष्ट व्यक्तित्वहरुलाई सम्झेका थिए। उनले गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट नेपाली भाषाको प्रयोग विषयमा दिइएको ज्ञापन पत्र विषयमा बोल्दै सबैले विकासको लागि ज्ञापन पत्र बुझाएका छन् तर गोर्खा जनपुस्तकालय खरसाङले नेपाली भाषाको लागि ज्ञापन पत्र बुझाएका छन् जुन आफ्नो लागि नौलो भएको उल्लेख गरेका छन्। उनले नेपाली भाषा मान्यता दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रममा राजेस गजमेरले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा अध्यक्षीय सम्बोधन र धन्यवाद ज्ञापन समारोह अध्यक्ष प्रकाश प्रधानले राखेका थिए। खरसाङमा आयोजित नेपाली भाषा मान्यता दिवस सामरोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सूचना अनि सांस्कृतिक विभाग जीटीए खरसाङका प्रभारी गोबिन छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement